काठमाडौं ।
कोरोना भाइरस (कोभिड -१९) ले यति बेला विश्वलाई नै त्रसित बनाएको छ। यसको रोकथाम तथा नियन्त्रणको लागि विश्व नै लकडाउनमा रहेको छ । लकडाउनले करिव तीन महिनादेखि ठूला उद्योगधन्दा, कलकारखाना, विकास निमार्ण, पर्यटन, होटल तथा व्यापार व्यवसाय ठप्प रहेका छन् ।
यसरी आर्थिक गतिविधि हुने क्षेत्र बन्द भएकाले विश्व अर्थतन्त्र तहसनहस भएको छ । कारोना भाइरसले आर्थिक मात्रै होइन सामाजिक तथा मानिसको जनजिविकामा समेत असर पारेको छ । त्यसैले अब लकडाउनको मोडालिटीलाई परिवर्तन गरि अधिकांश मुलुकहरूले आर्थिक गतिविधि सञ्चालन गर्न थालेका छन् ।
भारतमा दुई दिन अघि देखि अधिकांश शहरहरुमा लकडाउनलाई परिवर्तन गरेर आर्थिक तथा सामाजिक गतिविधि खुकुलो पारिएको छ । भारतका धेरैजसो राज्यमा धार्मिक स्थल, सपिङ मल, होटल तथा रेष्टुरेन्ट समेत खुल्न थालेका छन् । भारतमा करिब ७० दिन भन्दा बढी लकडाउन भए पश्चात् सरकारले केही दिनदेखि आर्थिक गतिविधि संचालन गर्ने र सामाजिक दूरी कायम गर्दै चहलपहल बढाउने निर्णय गरेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत ४ तारिखमा जारी गरेको निर्देशिका अनुसार सुरक्षा ब्यवस्थाको पालना गर्दै बजार तथा मन्दिर खोल्ने निर्णय गरेसँगै भारतका अधिकांश शहरहरुमा आर्थिक गतिविधि तथा चहलपहल हुन थालेको छ । तर पनि भारतमा कोरोना भाइरसको संक्रमण भने बढ्दै गएको छ ।
तर, अन्य आर्थिक गतिविधि सञ्चालनमा आएपनि सपिङ मलहरुमा सिनेमा हल, गेमिङ आर्केड तथा बच्चाहरुको खेल्ने स्थल भने पहिले जस्तै प्रतिबन्धित नै रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । भारतको पंजाब सरकारले आफ्नो निर्देशन अनुसार मलहरुमा प्रवेशका लागि टोकनमा आधारित भएर किनमेल गर्ने ब्यवस्था मिलाएको छ । गुजरातले केही धार्मिक स्थलहरुमा सिफ्ट अनुसार दर्शन गर्ने सुविधा दिएको छ।
त्यस्तै, उत्तर प्रदेश सरकारले सोमबारदेखि नै धार्मिक स्थल, मलहरु तथा होटल र रेष्टुरेन्ट खोल्ने निर्णय गरेको छ । दिल्लीमा चहलपहल जारी नै छ । दिल्लीले सीमाना सोमबारदेखि नै खुला गरेको छ भने त्यहाँका सपिङ मल, रेष्टुरेन्ट तथा धार्मिक स्थलहरु खोले पनि सामाजिक दूरीको पालनामा भने निकै कडाइ गरेको छ तर होटलहरु भने खोलिएका छैनन् । आगामी दिनमा होटलहरुलाई क्वारेन्टाइन बनाउनु पर्ने पनि हुन सक्ने भएकाले होटलहरु नखोलिएको बताइएको छ।
भारतमा तीन महिना पश्चात् केही आर्थिक गतिविधि सञ्चालन गरे पनि यता नेपालमा भने लकडाउनको मोडालिटी परिवर्तन गरि आर्थिक गतिविधि बढाउने तयारी गरेको छ तर नितिगत रुपमा निर्णय भने गरेको छैन ।
तर,कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको मापदण्डमा भने सरकारले असार १५ बाट होटल व्यवसाय सञ्चालन गर्ने तयारी गरेको पाइएको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने मापदण्डहरु बनाएर ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ । सोहि अनुरुप पर्यटन मन्त्रालयको तर्फबाट असार १५ गतेबाटै होटलको केहि सेवाहरु सुचारु गर्न सुझाव दिएको छ ।
होटल भित्र पर्ने चमेनागृह, चिया पसलहरु र रेष्टुरेन्टहरुलाई सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिनु पर्ने पर्यटन मन्त्रालयले प्रस्ताव तयार पारेको छ । त्यस्तै १७ गते आन्तरिक उडान र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने गरि लकडाउन खुकुलो बनाउने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई यस्तो सुझाव दिएको हो ।





























प्रतिक्रिया