- तिलु शर्मा पौडेल
दोहा कतार ।
कोरोना भाइरसका कारण कतारका विभिन्न क्षेत्रमा लागेका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने तयारीमा कतार सरकार लागेको हिजो राती एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोरोना बिरुद्दको लडाई जारी राख्दै सेप्टेम्बर सम्ममा कतारको दैनिक जीवनलाई सामान्य रूपमा ल्याइने विपत्ति व्यवस्थापन समितिका प्रवक्ता लोल्वाह विन्त रसिद अल खतेरले उक्त पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
कतारको दैनिक जीवनलाई लामो समयसम्म प्रभावित गर्न नसकिने बताउँदै खतेरले कतारमा प्रतिबन्धमा परेका क्षेत्रहरूलाई चार चरणमा खुकुलो पारिने जानकारी गराइन् । यद्यपी खुकुलो पारिएका सबै क्षेत्रमा सामाजिक दुरी सहित स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको अनिवार्य पालना गर्नु पर्नेछ ।
पहिलो चरण अन्तर्गत १५ जुनबाट प्रार्थनाको निम्ति कतारका निश्चित मस्जिदहरू, सीमित पार्कहरू, केही जिमहरू र निजी डुङ्गाहरू सञ्चालन गर्न पाइने छ । अति आवश्यक परेकाहरूको लागि कतार प्रवेश र बहिर्गमन खुल्ला गरिएको छ भने कतार प्रवेश गर्नेले अनिवार्य निजी खर्चमा क्वारेनटाइन बस्नु पर्नेछ ।
दोस्रो चरण अन्तर्गत जुलाई १ देखि चरणबद्ध रूपमा ३० तारिख सम्ममा जमघट तथा भेला हुने नियम अन्तर्गत १० जना भन्दा तलको सङ्ख्यालाई अनुमति दिइने छ । यसै गरी निश्चित अन्य मस्जिदहरू क्रमशः खोलिने भएको छ । केही रेस्टुरेन्ट र सबै पार्कहरू, सी लाइनबीचहरु, कोर्नेस र निजी पानी जहाज परिवारको लागि मात्र खुल्ला गरिने भएको छ ।
अगस्ट १ देखि कतार बाहिर रहेका र कोरोनाबाट कम प्रभावित देशका नागरिकहरूलाई कतार प्रवेश गर्न दिइने छ । यद्यपी कतार प्रवेश पछि १४ दिन अनिवार्य क्वारेनटाइन बस्नु पर्नेछ । बन्द रहेका सबै सैलुनहरू खुल्ला गरिने भएको छ तर सैलुन भित्र भिडभाड गर्न पाइने छैन । बन्द रहेका सबै ड्राइभिङ स्कुलहरू मेट्रो, तथा सार्वजनिक सवारीसाधन पनि खुल्ला गरिने भएको छ ।
चौथो चरण अन्तर्गत सेप्टेम्बर १ देखि सम्पूर्ण सपिङ मार्केट तथा मलहरू, होटेल तथा रेस्टुरेन्ट, म्युजियम तथा पुस्तकालय, तथा पूर्ण रूपमा कार्य स्थलबाट काम गर्न पाइने गरी खुल्ला गरिनेछ भने हाल बन्द रहेका सम्पूर्ण निजी क्लिनिक तथा अस्पतालहरू खुल्ला गरिने भएको छ ।





























प्रतिक्रिया