काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये संघीय संसदको प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रीहरुले सांसदको प्रश्नको जवाफ दिएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ माथिको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको मन्त्रीहरुले जवाफ दिएका हुन् । कानुनमन्त्री शिवमाया तम्बाहाङ्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतका अन्य मन्त्रीले पनि सांसदहरुले उठाएका प्रश्नका जवाफ दिएका थिए ।
त्यस्तै दक्षिण एशियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुक बनेको छ । पछिल्लो समय कोरोनाको संक्रमण तीव्र देखिएसँगै भारत दक्षिण एशियाको बढी संक्रमित मुलुक बनेको हो । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार नाघेकोे छ भने ७ हजार २ सय ७ जनाको ज्यान गइसकेको छ ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वबाट डा. बाबुराम भट्टराई पछाडि हटेका छन् । आइतबार दल दर्ताका लागि आवश्यक कागजपत्र बुझाउनुपर्ने कानुनी बाध्यता हुनु र नेतृत्वमा सहमति जुट्न नसक्नुलाई मध्यनजर गर्दै डा.भट्टराई वरियताबाट पछाडि हटेका हुन् ।
त्यस्तैगरी काठमाडौं विकास प्राधिकरणले उपत्यकाभित्र निर्माण गर्ने चारमध्ये तीन वटा नयाँ शहरकोे डीपीआर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ । काठमाडौं उपत्यका भौतिक विकास समितिले चार वटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको भएपनि तीन वटा सहरको डीपीआर मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
लकडाउनको अवधिमा भारतीय तरकारी धमाधम नेपाल भित्रिएका छन् । तर नेपाली किसानले उत्पादन गरेका तरकारीहरु खेतबारीमा नै कुहिएर खेर गएका छन् । नेपाली किसानको उत्पादनलाई उचित बजारीकरण गर्न नसक्नु तर भारतीय तरकारीमा कुनै बन्देज नगर्दा नेपाली उत्पादन कुहिएर खेर जाँदा पनि भारतीय तरकारी धमाधम भित्रिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया