कतारको लकडाउनमा व्यापक परिवर्तन, कोरोना संक्रमित मध्ये निको हुनेको संख्या उच्च

कतारको लकडाउनमा व्यापक परिवर्तन, कोरोना संक्रमित मध्ये निको हुनेको संख्या उच्च

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा कतार,

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलअजीज अल थानीको अध्यक्ष्यतामा हिजो बसेको मन्त्रिपरिषदको भिडियो कन्फरेन्सबाट आजबाट साना सवारी साधनमा ४ जना चढ्न पाइने निर्णय गरेको छ । तर यो निर्णय परिवारको हकमा लागू हुनेछैन । बैठकले नीजि क्षेत्रले बिहान ७ बजेबाट साँझ ८ बजेसम्म काम गर्न पाउने निर्णय गरेको छ ।

खुल्ला पार्कहरुमा अभ्यासका क्रममा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम पनि हालको लागि हटाएको छ तर ३ मिटरको दुरी कायम गर्न अनुरोध गरेको छ ।

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेहरुको सङ्ख्या सङ्क्रमितको सङ्ख्या भन्दा उच्च रहने गरेको छ यसले यहाँका नागरिकहरुमा थप हौसला प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १,९२६ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल सङ्ख्या ३९ हजार ४६८ पुगेको हो । ४,६४९ जनामा गरिएको परीक्षणमा १५८१ जनामा सङ्क्रमण देखिएको छ । भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ४५ छ भने सङ्क्रमितको सङ्ख्या ६३ हजार ७४१ पुगेको छ ।

कतार अहिले पनि कोरोनाको उच्च जोखिममा रहेको जनाउँदै मन्त्रालयले निर्देशित गरेका सम्पूर्ण नियम तथा कानुनको पालना गर्न नागरीकसँग आग्रह गरेको छ । कुल २ लाख ४१ हजार ८६ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १, ६४६ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने २१० जनालाई अस्पताल भर्ना गरिएको छ ।

थप १४ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३९ पुगेको छ । २४ हजार २२८ जनाको क्वारेन्टाइनमा उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Logo