नयाँ दिल्ली,
भारतले लकडाउनको अवधि एक महिना थप गरेको छ । तर यस पटक देखि संक्रमण नदेखिएका ठाउँमा भने केही खुकुलो बनाउने भएको छ । पाँचौ पटक थप्दै लकडाउन आगामी जुन ३० सम्म लागू हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यस अघि लागू गरिएको लकडाउन मे ३१ (आज) समाप्त हुँदैछ ।
भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको थियो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू शुरु गरेको थियो । यस्तै दोस्रो चरणको लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।
भारत सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो । विगत केही दिन यता भारतभरि नै कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको थियो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको थियो ।
आजदेखि पाँचौं चरणको लकडाउन शुरु हुने बताइएको छ । लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर केही छुट दिइएको छ । संक्रमण भेटिएको क्षेत्र बाहिरका क्षेत्रहरुमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ । यी ठाउँहरुमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ ।
भारतमा हालसम्म एक लाख ८० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट शनिबार साँझसम्म भारतमा ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रमण पुष्टि भएकामध्ये करिब ८३ हजार निको भएका छन् ।





























प्रतिक्रिया