नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युड (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ ।
शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।
सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे सोधिएको प्रश्नमा अस्पतालका सुपरिन्टेन्डेन्ट तथा चिकित्सक डिके शर्माले भने, “हामीले हाम्रा स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि आवश्यक सबै पूर्व सावधानी र सुरक्षाका उपाय अपनाएका छौँ । हाम्रा कर्मचारी सङ्क्रमित भएको पुष्टि हुँदासाथ उनीहरूलाई अलग राखी उपचार सुरू गर्ने र उनीहरूको सम्पर्कमा आएका विरामी तथा कर्मचारीहरूलाई खोजी गर्ने र आवश्यक अन्य सावधानीहरू अपनाउने गरेका छौँ ।”
उनले भने, “कुनै पनि स्वास्थ्यकर्मी वा कर्मचारी एम्समा काम गर्ने शिलशिलामा सङ्क्रमित भएको पाइएको छैन ।” एम्सले सङ्कलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमित कर्मचारीमा चिकित्सक तथा गैर–चिकित्सक दुबै रहेका भेटिएको छ । यसरी सङ्क्रमित भएका मध्ये १० आवासीय चिकित्सक, २६ नर्स र ६९ जना सुरक्षा गार्ड साथै ३४ जना सरसफाइ सम्बन्धी काम गर्ने कर्मचारी रहेका अस्पतालले बताएको छ ।
सङ्क्रमित भएकाहरू मध्ये धेरैले उपचारपछि निको भएर क्वारेन्टाइनपछि अस्पतालमा पुनः काम थालेका छन् । अस्पतालले आफ्ना कर्मचारीलाई सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा सामग्री उपलब्ध गराएको दावी शर्माले गरे ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ७०८ जनाको मृत्यु भएको छ । भारतमा विगत २४ घण्टामा सात हजार ४६६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने १७५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा बढी
भारतमा ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा पहिले कोभिड–१९ सङ्क्रमण पत्ता लागेको यो वर्षको जाडो याममा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक चीनमा भन्दा बढी पुगेको छ । यहाँ निको भई घर फर्किनेको सङ्ख्या ७२ हजार ५४३ रहेको छ भने अहिले सङ्क्रमित रहेको सङ्ख्या ९१ हजार ६४८ रहेको छ ।
चीनमा शुक्रबारसम्म सङ्क्रमितको सङ्ख्या ८२ हजार ९९५ छ भने मृत्यु हुनेको सङ्ख्या चार हजार ६३४ रहेको छ । चीनमा निको भएर घर फर्किनेको सङ्ख्या ७८ हजार २९१ रहेको छ । चीनमा अहिले कूल ७० व्यक्तिमा सङ्क्रमणका कारण उपचार सेवा लिइरहेको चिनियाँ समाचार माध्यमहरूले जनाएका छन् ।रासस





























प्रतिक्रिया