नयाँदिल्ली ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजाति अन्तर्गतको कीरा हो ।
सलहले खाद्यान्न बाली लगायतका कृषि उपजलाई क्षति पुर्याउने भएकाले सलहलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतका वर्षहरुमा सलहको हुल भारत लगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्रनै धरासायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।
भारतमा सामान्यतः गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ ।
भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोड वटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ । भारतीय सञ्चारमाध्यमहरुले विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खाने गर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खाने बराबरको खाद्यबाली खान सक्छन् । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ ।
सलहले कृषि बालीलाई क्षति पुर्याउने भए पनि अहिलेसम्मको अनुसन्धानले यिनीहरुले मानिसलाई असर पार्ने कुनै पनि रोगको संक्रमण नगराएको विभिन्न अध्ययनहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्व खाद्य संगठनले सलहको प्रकटका कारण कृषि उत्पादनमा असर पर्ने चेतावनी दिएको थियो । साथै एलडब्लूओले पनि यस वर्ष सलहको प्रजनन अत्यधिक हुने अनुमानसँगै राज्य सरकारलाई यसलाई नियन्त्रणको कदम तत्काल चाल्न पनि भनेको छ ।
सलहको हुल नेपाल प्रवेश गर्ने, नगर्ने अझै यकिन हुन सकेको छैन । तर, पछिल्ला दिनहरुमा नेपालका तराई क्षेत्रमा गर्मी अत्यधिक बढेका कारण उत्तरप्रदेशतिर र दिल्लीतर्फ अगाडि बढेको सलहको हुल नेपालतर्फ पनि सोझिन सक्ने खतरा रहेको छ । वैज्ञानिकहरुका अनुसार उच्च तापक्रमले हावामा चप न्यून हुँदा उड्न सहज हुने भएकाले सलहको हुल अत्यधिक गर्मी भागतर्फ जाने सम्भावना बढी रहन्छ । यसलाई आधार मान्दा पनि नेपाल पनि सलहको प्रकोपको जोखिममा रहेको देखिन्छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया