काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये आगामी आर्थिक वर्षको बजेट घटाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गत वर्षको भन्दा घटाइएको हो । आगामी वर्षको बजेटको आकार कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ तय भएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको थियो ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने जनाएको छ । संविधान संशोेधन प्रस्तावमा समर्थन गर्ने अन्तिम निर्णय गर्न जेठ १७ गते केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जनाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग भएकाले संसद्मा दर्ता भएको विधेयकको पक्षमा कांग्रेस रहेको बताए ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार देशभर संक्रमितको संख्या १ हजार नाघेको हो । साथै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
त्यस्तैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पले ट्वीटरले आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको भन्दै बन्द गर्ने चेतावनी दिएका हुन् । गत मंगलबार ट्रम्पले गरेको ट्वीटलाई ट्विटरले ‘फ्याक्ट चेक’ को लिंक जोडि दिएको थियो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजान भारतीयपक्षलाई आग्रह गरेका छन् । भारतीय पत्रिका द हिन्दुसँगको कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले कालापानीबाट भारतीय सेना फिर्ता गरी सीमा विवादको समाधानतर्फ जानुपर्ने बताएका हुन् । मन्त्री ज्ञवालीले एकतर्फी रुपमा नेपाली भूमि समेट्दै नक्सा सार्वजनिक गरेर भारतले विगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि उल्लेख गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया