जेनेभा ।
कोरोना भाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । यो सहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९४ हजार ९३६ पुगेको छ ।
कोरोना भाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोना भाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ को मृत्यु भएको छ । इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
रासस–एएफपी





























प्रतिक्रिया