ऋषि कपूर: श्रीमतीसँग १२ वटा फिल्ममा अभिनय, २ वर्षदेखि क्यान्सरसँग संघर्ष

ऋषि कपूर: श्रीमतीसँग १२ वटा फिल्ममा अभिनय, २ वर्षदेखि क्यान्सरसँग संघर्ष

केन्द्रबिन्दु
0
Shares

कपूर खानदानका महशुर अभिनेता ऋषि कपूर अब हामी माझ छैनन् । क्यान्सरसँग लड्दै आएका उनको बिहिबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा ६७ वर्षको उमेरमा निधन भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

हिजो मात्र बलिउडले अर्का अभिनेता इरफान खानलाई गुमाएको थियो । इरफानको निधनको खबर सेलाउन नपाउँदै ऋषि कपूरको निधनको खबरले बलिउड उद्योगलाई स्तब्ध बनाएको छ । सन् २०१८ मा २७ वर्षपछि ऋषि कपूरसँग ‘१०२ नट आउट’ फिल्म गरेका अभिनेता अमिताभ बच्चनले यसबारे ट्वीट गरेर जानकारी गराएका थिए ।

ऋषि गत वर्ष सेप्टेम्बरमा अमेरिकाबाट भारत फर्किएका थिए । उनको क्यान्सर उपचार त्यहाँ लगभग एक वर्ष गराइएको थियो । बुधबार उनलाई छातीमा संक्रमण भएर सास फेर्न गाह्रो र ज्वरोको कारण अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो तर, आज बिहान उनलाई मृत घोषित गरिएको थियो । ऋषिले अन्तिम सास फेर्ने बेलामा उनकी श्रीमती नीतु र छोरा रणबीर साथमा थिए ।

२ वर्षअघि भएको थियो क्यान्सर

सन् २०१८ मा ऋषि कपूरलाई क्यान्सर भएको थियो । उनी उपचारका लागि अमेरिका गएका थिए । उनी गत वर्ष सेप्टेम्बरमा ११ महिनापछि भारत फर्केका थिए । उनले आफ्नी श्रीमती नीतुसँग अमेरिकामा समय बिताएका थिए । छोरा रणबीर कपूर पनि उनलाई धेरै पटक भेट्न न्युर्योक गएका थिए । केही दिन अघि ऋषिले एक अन्तर्वार्तामा भनेका थिए “म अहिले धेरै राम्रो महशुस गरिरहेछु, फेरी अभिनय कहिले सुरु गर्ने भनेर सोच्दैछु । थाहा छैन दर्शकहरुलाई मेरो काम मन पर्छ वा पर्दैन । न्युर्योकमा मलाई धेरै पटक रक्तपात गरियो । तब मैले नीतुलाई भने– मलाई आशा छ की नयाँ रगतको बाबजुद पनि म अभिनयलाई बिर्सन्न ।”

फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना

ऋषि कपूर फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना भएका थिए । एक पटक उनी दिल्लीको पारिवारिक कार्यक्रममा भाग लिन गएका थिए । उनलाई त्यहाँको अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला ऋषि संक्रमणबाट पीडित थिए । मुम्बई फर्केपछि उनलाई फेरि भाइरल ज्वरोको कारण अस्पतालमा भर्ना गरिएको थियो । तर उनको स्वास्थ्यमा छिटो सुधार भएपछि चाडै डिस्चार्ज गरिएको थियो ।

एक महिनादेखि सामाजिक संजाल बन्द

सामाजिक मिडियामा आफ्नो तार्किक र आपत्तिजनक टिप्पणीका लागि परिचित ऋषिले अप्रिल २ पछि ट्वीटर एकाउन्टमा केही पनि पोष्ट गरेका छैनन् । उनको दीपीका पादुकोणसँग हलिउड ‘द इन्टर्न’ को रिमेकमा काम गर्ने पनि घोषणा भएको थियो ।

पारिवारिक अवस्था

चिन्तुको नामले परिचित ऋषिको जन्म ४ सेप्टेम्बर सन् १९५२ मा मुम्बईको चेम्बरमा भएको थियो । उनी राज कपूरका दोस्रो छोरा र पृथ्वी कपूरका नाति थिए । उनले मुम्बईको क्याम्पियन स्कुल र अजमेरको मेयो कलेजमा आफ्ना भाइहरुसँग अध्ययन गरेका थिए । रणधीर कपूर उनका जेठा दाई हुन् र राजीव कपूर उनका कान्छा भाइ हुन् । ऋषि र नीतुका दुई सन्तानहरु रणबीर कपूर र रिदिमा कपूर छन् ।

ऋषि कपूरको फिल्म यात्रा

ऋषि कपूरले सन् १९७० मा आफ्नो बुबाको फिल्म ‘मेरा नाम जोकर’ बाट बलिउडमा डेब्यू गरेका थिए । यस फिल्ममा ऋषिले आफ्ना बुबाको बाल्यकालको अभिनय गरेका थिए । सन् १९७३ मा ‘बोबी’ फिल्मबाट भने उनी मुख्य अभिनेताको रुपमा बलिउडमा भित्रिएका थिए ।

आफ्नो करियरमा उनले १९७३ देखी २००० सम्ममा ९२ वटा फिल्महरुमा रोमान्टिक नायकको भूमिकामा अभिनय गरेका थिए । एकल नेतृत्व अभिनेताको रुपमा ५१ वटा फिल्महरुमा अभिनय गरेका छन् । ऋषि आफ्नो समयको चकलेटी नायक मध्ये एक थिए । उनले बलिउडको धेरै रोमान्टिक हिट फिल्म गरेका छन् । ऋषिले आफ्नी श्रीमतीका साथ पनि १२ वटा फिल्ममा अभिनय गरेका छन् ।

ऋषिले निर्देशनमा पनि आफ्नो हात चलाएका थिए । उनले सन् १९९८ मा अक्षय खन्ना र ऐश्वर्या राय बच्चन अभिनीत फिल्म ‘आ अब लौट चले’ निर्देशन गरेका थिए । कपूरले आफ्नो करियरको सुरुदेखि नै एक रोमान्टिक पात्रको भूमिका निर्वाह गरेका थिए तर, अग्निपथ फिल्ममा भने उनले खलनायक चरित्रमा खेलेका थिए । अग्निपथ फिल्मबाट उनी एआईएफए बेष्ट नेगेटिभ रोल अवार्डबाट पनि सम्मानित भएका थिए ।

Logo