उत्तर कोरियाको कोरोना भाइरस फ्रि भएको दाबी 

उत्तर कोरियाको कोरोना भाइरस फ्रि भएको दाबी 

केन्द्रबिन्दु
0
Shares

सोल ।
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका छन् । तर पनि दक्षिण कोरियाले आफ्नो देशमा यसका बिरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ । तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचार आएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानुनहरु लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानुन र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए ।  उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिए । तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाई थियो ।

दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् । उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् । रासस,एएफपी

Logo