कोरोना प्रभाव : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १८ वर्ष यताकै कम

कोरोना प्रभाव : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १८ वर्ष यताकै कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनबाट सुरु भई विश्वभरि नै फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ठूलो सकट निमत्याई विश्व नै लकडाउनमा बस्नु परेको छ । यसले विश्वमा खपद हुने पेट्रोलियम पदार्थको मागमा पनि कमि आएको छ ।

माग कमि भएकाले गत सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा आजदेखि केही सुधार आएको छ ।

२०२० को जनवरी महिनादेखि नै अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्ने क्रम सुरु भएको थियो । कोरोना भाइरसको संक्रमण विश्वभरि बढेका कारण विभिन्न देशले अन्तर्राष्ट्रिय उडान रोकावट गर्दै जाँदा अब तेल उपयोग हुने कारोबारहरू अत्यन्त तीव्र गतिमा घट्दै गएकाले पेट्रोलियम पदार्थको खपतमा कमि आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । यो तेलको मूल्य १८ वर्ष यताकै कम मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा अप्रशोधित तेल (ब्रेन्ट क्रुड) को माग घट्न थालेपछि मूल्य झरेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा तेलको मूल्य झरेको थियो । यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य हो । सन् २००२ मा यस्तो तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म झरेको थियो ।

रुसले ओपेक राष्ट्रहरुको निर्णय बमोजिम तेलको उत्पादनमा कटौती गर्न नमान्दा उनीहरुबीच मूल्य–युद्ध सुरु भएको थियो । विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्रारिष्ट्रय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जस अनुसार अहिले साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट बढाएर करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा प्रभाव पार्ने दुई कारण

१. कोरोना भाइरसको प्रभावसगै विश्वभरका मुलुकले अन्तर्राष्ट्रिय उडान तथा भाव यात्रामा प्रतिबन्ध लगाउँदै यात्रुहरूलाई प्रवेशाज्ञा बन्द गर्नु, जेट इन्धनको माग घट्नु, उद्योग क्षेत्रमा मन्दीको अवस्था हुनु, कलकारखाना एवं निर्माण कार्य बन्द गर्दै मजदुरहरूलाई घर फिर्ता गर्नु, तेलको प्रयोगबाट उत्पादनहरू सबै बन्द हुन पुग्नु जस्ता कारणहरूले तेलको वास्तविक माग ठूलो मात्रामा घट्दै जानु लगायत प्रमुख कारण रहेका छन् ।

२.मागकै आधारमा तेलको मूल्य निर्धारण हुने गर्छ तर विगत तीन महिनादेखि विश्वभर आर्थिक क्रियाकलाप तथा कारोबार बन्द भइ तेलको मागमा कमि आउन थाल्नुका साथै लामो समयसम्मका लागि स्टक मार्केटले समग्र विश्व अर्थतन्त्रमा प्रभाव पार्नु रहेको छ ।

नेपालमा यसको अवस्था

विश्वमा कोरोना भाइरसले प्रभाव पारिरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहेको छैन । नेपालमा पनि यसले ठूलो असर पारेको छ । अर्थतन्त्रदेखि दैनिक जनजीवनमा समेत प्रभाव पारेको छ ।

विगत १० दिनदेखि देशमा लकडाउन रहेकाले आर्थिक गतिविधि हुन छोडेका छन् । अन्तर्राष्ट्रिय उडानदेखि आन्तरिक यातायातसमेत ठप्प छन् । यसले गर्दा नेपाली बजारमा पेट्रोलियम पदार्थको माग न्यून रहेको छ।

नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हो, जुन सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ । पेट्रोल बाइक तथा साना सवारीमा खपत हुने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटे पनि नेपालमा त्यसको १५ दिनपछि मात्र मूल्य समायोजन हुने गरेको छ । ०७१ सालमा यो प्रणाली लागू गर्दा निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने र अन्तर्राष्ट्रिय भाउ अनुसार नै घटबढ हुने घोषणा गरेको थियो ।

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाएको हो ।

निगमको सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्यमा १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ ।

Logo