राहत कोषमा करोडौँ सहयोग गर्ने भारतीय कलाकर्मीहरु

राहत कोषमा करोडौँ सहयोग गर्ने भारतीय कलाकर्मीहरु

केन्द्रबिन्दु
0
Shares

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसबाट भारत पनि अछुतो रहन सकेको छैन । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाबाट २०५३ जना संक्रमित छन् भने ६४ जनाको मृत्यु भइसकेको छ । यस संक्रमणलाई रोकथाम गर्न भारत सरकारले खडा गरेको प्रधानमन्त्री राहत कोषमा एकाध बाहेक हरेक जस्तै भारतीय कलाकर्मीहरुले सहयोग गरेका छन् । जसमध्ये आज हामी १ करोड र त्यसभन्दा माथि रकम सहयोग गर्ने कलाकर्मीहरुको रिपोर्ट पस्कदैछौँ ।

१. अक्षय कुमार
प्रधानमन्त्री राहत कोषमा सबैभन्दा पहिला र सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने अभिनेता हुन् अक्षय कुमार । अक्षयले कोष खडा भएको २० मिनेट पनि नपुग्दै २५ करोड भारु सहयोगको घोषणा गरेका थिए । जसकारण सामाजिक संजालमा उनको धेरै प्रशंशा भयो भने एकाधले बीजेपीको चम्चा भएको आरोप पनि लगाए। तर जे भएपनि उनले निस्वार्थ रुपमा सहयोग गरेकोमा कुनै दुइ मत छैन ।

२. भूषण कुमार
निकै चर्चित र सफल भारतीय मनोरंजन कम्पनी टी-सीरीजका मालिक भूषण कुमारले राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेका छन् । उनले ट्विटमार्फत आफुले प्रधानमन्त्री राहत कोषमा ११ करोड र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा १ करोड रकम सहयोग गरेको जनाएका थिए ।


३. प्रभास उप्पालापति
बाहुबली अभिनेता प्रभास उप्पालापतिले कोरोना महामारीसँग लड्न ४ करोड ५० लाख भारु सहयोग गरेका छन् । उनले सुरुमा प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ३ करोड र आन्द्रा प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा ५०-५० लाख रकम सहयोग गरेका थिए । पछि उनले फेरी अभिनेता चिरंजिविको नेतृत्वमा संचालित कोरोना क्राइसिस च्यारिटीमा ५० लाख सहयोग गरेका थिए ।

 

४. अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्माले कोरोना विरुद्ध लड्न भारत सरकारलाई आर्थिक सहयोगको घोषणा गरेकी छिन् । उनले आफ्ना पति क्रिकेटर विराट कोहलीसँग मिली भारतको केन्द्र सरकार र महाराष्ट्र सरकारलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनीहरुले कति सहयोग गरे भन्ने खुलेको त छैन तर भारतीय मिडियाले भने ३ करोड भारतीय रुपैयाँ सहयोग गरेको दाबी गरेका छन् ।

५. पवन कल्याण
हैदराबादमा सेल्फ क्वारेन्टाइनमा रहेका तेलेगु अभिनेता पवन कल्याणले २ करोड भारु सहयोग गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड र आन्द्रा प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा ५०-५० लाख रकम सहयोग गरेका हुन् ।

६. साइ ताम्हांकार
चर्चित मराठी अभिनेत्री साइ ताम्हांकारले पनि मुख्यमन्त्री सहायता कोषमा रकम सहयोग गरेकी छिन् । उनले आफ्नो सहयोगबारे ट्विट मार्फत जानकारी दिएकि थिईन् । हुनत उनले सहयोग रकम खुलाएकि छैनन् तर भारतीय मिडियाका अनुसार उनले १ करोड ५० लाख भारु सहयोग गरेकी छिन् ।

७. अल्लु अर्जुन
भारतीय सुपरस्टार अल्लु अर्जुनले कोरोनासँग लड्न आफ्नो तर्फबाट १ करोड ४५ लाख भारु सहयोग गरेका छन् । उनले सुरुमा आन्द्रा प्रदेश, तेलेंगाना र केरलाका सर्वसाधारणलाई राहत वितरण गर्ने उदेश्यले त्यहाँको मुख्यमन्त्री कोषमा १ करोड २५ लाख भारु सहयोग गरेका थिए । तर भारत २१ दिनको लागि लकडाउन भएपश्चात उनले सिने मजदुरहरुका लागि फेरी २० लाख रकम सहयोग गरेका थिए ।

८. महेश बाबु
चर्चित तेलेगु युवा अभिनेता महेश बाबुले आफ्नो तर्फबाट १ करोड २५ लाख भारु सहयोग गरेका छन् । सुरुमा उनले आन्द्रा प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा गरि १ करोड सहयोगको घोषणा गरेका थिए । तर भारतीय सरकारले २१ दिन लकडाउनको घोषणा गरेपछि महेशले दैनिक ज्याला गरि जीविकोपार्जन गर्ने सिने मजदुरहरुलाई राहतको लागि थप २५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

९. रणदीप हुड्डा
अभिनेता रणदीप हुड्डाले पनि पियम केयर्स फन्डमा आफ्नो र आफ्नी श्रीमती जया पटेलको तर्फबाट १ करोड भारु सहयोग गरेका छन् । उनले सामाजिक संजालमा संसारलाई तर्साइरहेको कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिँदै आफुले गरेको सहयोग रकमबारे जानकारी गराएका थिए ।

१०. विक्की कौशल
अभिनेता विक्की कौशलले पनि कोरोना सँग लड्न १ करोड भारु सहयोग गरेका छन् । उनले ट्विटमार्फत आफुले प्रधानमन्त्री राहत कोष र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा गरी जम्मा १ करोड रुपैयाँ सहयोग गरेको जानकारी गराएका थिए ।


११. कार्तिक आर्यान
नव अभिनेता कार्तिक आर्यानले पनि पियम फन्डमा १ करोड भारु सहयोग गरेका छन् । उनले सामाजिक संजालमा मार्फत आफुले गरेको सहयोग बारे जानकारी गराएका हुन् । जहाँ उनले आफुले जे आर्जन गरे त्यो भारतीयहरुकै कारण भएकोले भारतीयलाई नै समर्पण गर्न चाहेको बताएका छन् ।


१२. चिरन्जीवी कोनिदेला
तेलेगु मेगास्टार चिरन्जीवी कोनिदेलाले पनि १ करोड भारु सहयोग गरेका छन् । उनले पनि लकडाउनमा दैनिक ज्यालामा काम गर्ने र कम आम्दानी हुने मजदुरहरुको समस्यालाई ध्यानमा राख्दै फिल्मी मजदुरहरुको राहतका लागि उक्त रकम सहयोग गरेका थिए ।

 

भारतीय मिडियाका अनुसार यी बाहेक पनि थुप्रै कलाकारहरुले करोड माथि सहयोग गरेका छन् । तर धेरैले सहयोग रकम खुलाउन चाहेका छैनन् ।

Logo