दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राहतको घोषणा

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राहतको घोषणा

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीलाई सेवा दिने क्रममा निधन भएमा त्यस्ता अधिकारीका पीडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । बुधबार मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा गरेका हुन्। उनले भने–‘यदि कसैले कोरोना भाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ ।’

कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारेका छन् । ‘मलाई थाहा छ तपाईहरुको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो ।’– उनले भने । आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिएका सबै प्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका छन्। उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ । तीमध्ये एक हजार ४ सय ६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १ सय ३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण निधन भएको मन्त्रालयले जनाएको छ । –रासस

Logo