श्रीविजया एअरको ब्ल्याक बक्स निकाल्ने प्रयास जारी

श्रीविजया एअरको ब्ल्याक बक्स निकाल्ने प्रयास जारी

केन्द्रबिन्दु
0
Shares

इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ। शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए । राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो।

खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन्। अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ।

इन्डोनेशियाको राष्ट्रिय यातायात सुरक्षा समितिका एक अनुसन्धानकर्ताले समाचारसंस्था रोएटर्सलाई आफूहरूले सोमवारसम्ममा ब्ल्याक बक्स फेला पार्ने आशा गरेको बताएका छन्। अहिले अनुसन्धानकर्ताहरूले विमानको पाङ्ग्रा लगायतका अन्य केही भाग भन्ठानिएका सामग्रीको विश्लेषण गरिरहेका छन् । विमानको एउटा इन्जिनको टर्बाइन पनि फेला परेको बताइएको छ।

दुर्घटनामा परेका कोही पनि जीवित फेला पर्न सक्ने सम्भावना नभएको देखिएको छ। इन्डोनेशियाको जलसेनाले दुर्घटनाग्रस्त विमानको भन्ठानिएको भग्नावशेष फेला पारेको छ

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालकदलका १२ सदस्य रहेको बताइएको छ। विमानको क्षमता भने १३० यात्रुको थियो ।अधिकारीहरूका अनुसार विमानमा सवार सबै जना इन्डोनेशियाली नागरिक नै थिए।

Logo