काँग्रेस नेतृ सोनियाद्वारा निर्माण श्रमिकलाई आपत्कालीन राहतको व्यवस्था गर्न सरकारसँग आग्रह

काँग्रेस नेतृ सोनियाद्वारा निर्माण श्रमिकलाई आपत्कालीन राहतको व्यवस्था गर्न सरकारसँग आग्रह

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले कोरोना भाइरस संक्रमणबाट सिर्जित आपतकालीन अवस्थामा निर्माण क्षेत्रका श्रमिकलाई राहत मिल्नेगरी विशेष उपायको खोजी गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार आग्रह गरेकी छिन्। कोभिड–१९ का कारण निम्तिएको ‘विशेष परिस्थति’लाई ध्यान दिँदै प्रधानमन्त्री मोदीलाई पत्राचार गरेको कांग्रेसले उल्लेख गरेको छ।

पत्रमा उनले कोरोना भाइरसबाट सिर्जित विशेष परिस्थितिमा प्रतिपक्षले सरकारलाई सधैँ साथ दिने बताउँदै संक्रमणका कारण रोजीरोटी नै गुमाएका श्रमिकलाई भोक टार्ने व्यवस्था गर्न आग्रह गरेको बताइएको छ । राष्ट्रिय आयोजनामा काम गर्ने तथा अन्य निर्माण क्षेत्रमा काम गर्ने खासगरी ज्यालाको व्यवस्थापन नहुँदा दुई छाक टार्नका लागि कष्टको सामना गरिरहेका श्रमिकको व्यवस्थापनका लागि राज्यका तर्फबाट विशेष उपायको अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएकी छिन् ।

‘हामी विश्वव्यापी प्रकोपको बिचमा रहेका छौँ । यस अवस्थामा कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि काम गर्नुपर्ने कठिन परिस्थिति छँदैछ साथै यसबाट हजारौँ श्रमिकले कामलाई निरन्तरता दिन नसक्दा उनीहरूलाई खाना (रोटी) को समस्या परेको छ ।’पत्रमा भनिएको छ–‘क्यानडा लगायतका विश्वका अन्य मललुकले कोभिड–१९ का कारण आएको यस कठिन घडिमा श्रमिकलाई ‘ज्यााला अनुदानको उपाय’ अघि सारेका छन् । भारतमा पनि मुख्य शहरहरूमा कार्यरत श्रमिकले आर्थिक संकटसँगै लाखौँ श्रमिक आफ्नो घर फर्किने क्रम जारी छ । हजारौँ शहरहरूमा अलपत्र अवस्थामा रहेका छन् । उनीहरूको व्यवस्थापन गर्नका लागि सरकारले विशेष पहल लिनु जरूरी छ ।’

विश्वकै दोस्रो ठूलो रोजगारदाता भारतमा चार करोड ४० लाख निर्माण क्षेत्रमा काम गर्ने श्रमिक छन् भने संक्रमणपछि ‘लकडाउन’ भएको सन्दर्भमा उनीहरूको दैनिकी कठिन बनेको छ । भारतमा ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने नौ जनाको संक्रमणका कारण मृत्यु भैसकेको छ ।–रासस

Logo