जेनेभा ।
महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १४ हजार ६४१ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरण अनुसार विश्वभर तीन लाख ३५ हजार ९९७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिमध्ये ९८ हजार ३३३ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा ५ हजार ४७६ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो । हाल ५९ हजार १३८ जना सङ्क्रमित रहेको इटालीमा ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिएका छन् । करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोना भाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ४३२ जना सङ्क्रमित भएका थिए । चीनमा ७२ हजार ४४० जना निको भएका थिए ।
चीनले अपनाएको उच्चतम सतर्कता, हुबेइ प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको छ भने २१ हजार ६३८ जना सङ्क्रमित रहेका छन् । सात हजार ९३१ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेनमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ७७२ जनाको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना सङ्क्रमित रहेका छन् । जर्मनीमा ९४ जनाको मृत्यु भएको छ भने २४ हजार ८७६ सङ्क्रमित रहेका छन् ।
संयुक्तराज्य अमेरिकामा ३४८ जनाको मृत्यु भएको छ । हाल अमेरिकामा ३३ हजार २७६ सङ्क्रमित रहेका छन् भने १७८ जनाको उपचार गरिएको छ । फ्रान्समा ६७४ जनाको मृत्यु भएको छ । हाल १६ हजार ०४४ भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ८९७ जनामा अझै पनि सङ्क्रमण छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ९८ जना, बेलायतमा २८१ जना, नेदरल्याण्ड्समा १७९ जना, बेल्जियममा ७५ जना र जापानमा ४० जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कम्तीमा ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ६ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कर्फ्यु” लागू गरेको छ ।
दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन् ।
विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै “लकडाउन” घोषणा गरिएको छ । एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् । १९२ देशमा संक्रमण फैलिएको छ ।
कोराना भाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् ।
रासस / एएफपी





























प्रतिक्रिया