काठमाडौं ।
विश्वभर कोरोनाको महामारी फैलिएसँगै पूर्वीय सभ्यताको नेपाली नमस्कार संस्कृति पनि विश्वभर फैलिदैछ । अभिवादनका रुपमा चुम्बन गर्ने, अँगालो मार्ने, हात मिलाउने जस्ता मुलुकहरुले समेत पछिल्ला दिनहरुमा नमस्कार संस्कृतिको महत्व बुझ्न थालेका छन् ।
हामी नेपाली आफ्नै पुर्खाले अँगालेको नमस्कार संस्कार बिर्सेर हात मिलाउने, चुम्बन गर्ने, अंकमाल गर्ने पश्चिमेली संस्कृतिमा अभ्यस्त छौं तर हाम्रै पूर्वीय सभ्यताको नमस्कार संस्कृति अब भने यूरोप लगायतका पश्चिमा मुलुकहरुले पनि अपनाउन थालेका छन् ।
कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानो ठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, चिकित्सक, किसान, उद्योगी शिक्षक, विद्यार्थी केही भन्दैन ।
चीनबाट शुरु भएको कोभिड १९ भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । यो रोगको संक्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा बिदाइमा गरिने चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुने भएकाले पछिल्लो समय नेपालमा प्रचलित र पूर्वीय सभ्यताको नमस्कार संस्कार विश्वभर प्रयोगमा आउन थालेको हो ।
कुनै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण रहेछ भने चुम्बन गर्दा श्वास प्रश्वासबाट र अङ्कमाल वा हात मिलाउँदा छालाको स्पर्शबाट कोरोना भाइरस सर्न सक्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
त्यसैले चिकित्सकले चुम्बन, अङ्कमाल र हात नमिलाउन सन्देश प्रवाह गरेका छन् । पछिल्लो समय नमस्कार अभिवादन संस्कृति कोरोनासँगै विश्वभर फैलिइरहेको छ । कोरोना फैलिनु दुःखद भए पनि कोरोनासँगै विश्वमै नमस्कार संस्कार फैलिनु भने नेपालको लागि सुखद विषय हो ।
सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुई हात जोडेर नमस्कार गर्न शुरु गरिसकेका छन् । नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका औंला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ ।
नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने नेपालको प्रचलित परम्परा हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उनीसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ । दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुन गई सकारात्मक सोचको विकास हुन्छ भन्ने मान्यता त छँदैछ यसले कोरोना भाइरस सर्ने जोखिमबाट समेत बचाउने चिकित्सकहरुले बताउँदै आएका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया