बेइजिङ ।
कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ । यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो । यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो ।
हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले चीनमा मास्कको दैनिक उत्पादन फेब्रुअरीको अन्त्यदेखि ११ करोड ६० लाख थानभन्दा बढी पुगेको जनाएको छ। महामारीको प्रारम्भिक अवस्थामा मास्कलगायतको अभावले चिकित्साकर्मी तथा सर्वसाधारणको जीवनमाथि प्रभाव पारेको थियो । हाल आपूर्ति र मागको दूरीलाई प्रभावकारी रूपमा कम गरेको जनाइएको छ।
एनडीआरसीका अनुसार गत शनिबारबाट दैनिक ११ करोड ६० लाख थान मास्क उत्पादन भइरहेका छन् । जुन फेब्रुअरी १ को तुलनामा १२ गुणा बढी हो।
दैनिक लाखौं मास्क आवश्यक भएपछि चीनले धमाधम उत्पादन बढाएको हो । कतिपय अरू किसिमका कारखानामा समेत मास्क उत्पादन यन्त्र स्थापना गरी मास्क उत्पादन गरिरहेको छ। गत फेब्रुअरी १९ तारिखबाट शाङहाई मोटर लिमिटेड समूह मातहतको बुलिङ कम्पनीले समेत मास्क उत्पादन गर्दै मास्क उत्पादन गर्ने चीनको पहिलो मोटर व्यवसाय बनेको छ।
हाल चीन तत्काल आवश्यक पर्ने मेडिकल मास्कको माग पूरा गर्न सक्षम भएको छ। एनडीआरसीका अधिकारीले महामारी फैलिने जोखिमका बाबजुद सरकारले काम पुनः शुरु गर्न र उत्पादन पुनः बहाली गर्न प्रयास जारी राख्नु आवश्यक भएको बताएका छन् । उनले भने, ‘यदि हामीले त्यसो गरेनौं भने हामी कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न चिकित्सकीय सुरक्षात्मक उपकरणको आवश्यकता पूरा गर्न सक्षम हुन सक्दैनौं । लामो समयसम्म दैनिक आवश्यक सरसामानको अभाव हुन सक्छ।’
यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीवार चीनले मास्क र सम्बन्धित कच्चा मालको निर्यातमा प्रतिबन्ध नलगाएको जनाएको छ। मन्त्रालयका अनुसार चीनमा मास्कको माग अझै पनि उच्च छ र हाल ठूलो संख्यामा उद्योगहरूले ठूलो परिमाणमा काम गर्न थालेका छन्। अन्नपूर्णबाट





























प्रतिक्रिया