काठमाडौँ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रलाई निकै प्रभाव पार्ने देखिएको छ ।
जसको असर चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । भारतीय समाचार पोर्टल दैनिक भाष्कर डट कमले कोरोना भाइरसका कारण सन् २०२० मा हलिउडमा २ अर्ब डलर बराबरको क्षति हुने आँकलन गरेको छ । दैनिक भाष्कर डट कम लेख्छ, ‘ग्लोबल बक्स अफिसमा क्षतिको आँकडा १ देखि २ अर्ब डलरसम्म पुग्न सक्छ ।’ २०१९ को फेब्रुअरी महिनामा चीनले एक महिनामा सबैभन्दा बढी बक्स अफिस रेभिन्यु संकलन गर्ने फिल्महरुमा रेकर्ड बनाएको थियो । फेब्रुअरीमा बक्स अफिसमा कुल १.६४ बिलियन डलर संकलन भएको थियो । २०१९ मा चाइनिज नयाँ वर्षका दिनमा चलचित्र टिकट बापतको रकम १.५२ अर्ब डलर संकलन भएको थियोे । तर २०२० मा यो आँकडा ३.९ करोड डलरमा झरेको छ ।
अहिले चीनका ७० हजार भन्दा बढी थियटरहरु बन्द भएका छन् । जसका कारण हलीवुड चलचित्रलाई ठुलो आर्थिक क्षति भोग्नुपर्ने अवस्था आएको दैनिक भाष्करले जनाएको छ । चीन हलीउडको ठूलो बजार हो । कोरोनाका कारण अधिकांश थियटरहरु बन्द हुँदा आर्थिक क्षति भोग्नु परेको हो ।
त्यस्तै, चीन भारतीय चलचित्रको पनि ठूलो बजार हिस्सा हो । कोरोना भाइरसको संक्रमण चल्दै गर्दा करिब पाँच भारतीय चलचित्रको शुटिङ लोकेशन परिवर्तन गरिएको छ । यसमध्ये तीन बलिउड चलचित्र, एक तामिल र एक तेलेगु चलचित्र छन् । अन्धाधुन्ध, माम र हिचकी जस्ता चलचित्रहरुले चिनियाँ बक्स अफिसमा एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरेका थिए । अमिर खानको दंगल चलचित्रले चीनमा दश अर्बभन्दा बढीको कारोबार गरेको थियो ।





























प्रतिक्रिया