कतारमा कोरोनाको जोखिम न्यूनीकरणका लागि युद्दस्तरमा काम हुँदै

कतारमा कोरोनाको जोखिम न्यूनीकरणका लागि युद्दस्तरमा काम हुँदै

केन्द्रबिन्दु
0
Shares

कतार ।
इरानमा रहेका कतारी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि उनको इरानबाट आकस्मिक उद्धार गरिएको थियो । सङ्क्रमित नागरिकलाई स्वदेश फर्काउन जहाज नै चार्टर गरिएका समाचारहरू आइरहेका छन् । हामद अन्तर्राष्ट्रिय एयरपोर्टमा यात्रुको स्वास्थ्य परीक्षणलाई कडाइका साथ लागू गरिएको छ ।

खास गरी एकै ठाउँमा धेरै मान्छे जम्मा हुने स्थानहरू मजदुर आधार शिविर नजिकका खुल्ला ‘स्ट्रिट मार्केटहरू’ बन्द गराइएका छन् । खासगरी औद्योगिक क्षेत्र वरिपरि काम गर्ने मजदुरहरू खालि रहेका स्थानहरूको उपयोग गर्दै त्यहाँ हाट बजार लगाउने र त्यस्ता बजारहरूमा हजारौँ जना एकै ठाउँमा जम्मा हुने हुनाले सङ्क्रमणको जोखिम उच्च रहने हुन सक्ने भन्दै त्यस्ता बजारमा कडाइ गरिएको छ । इन्डस्ट्रियल एरियाको ४५, ४६ स्ट्रिटको बीचमा लाग्ने सन्ध्याकालीन हाट बजार हिजो मार्च एक तारिख साँझ पूर्णतया सुनसान देखिन्थ्यो । केही व्यक्तिहरू बजार वरपर देखिन्थे तर सबैले मास्क लगाएका थिए ।

रुघा खोकी र ज्वरोको समस्या देखिएका बिमारीहरू लाई निगरानीमा राख्न थालिएको छ । एउटै शिविरमा हजारौँ जना बस्ने र एउटै कोठा ६ देखि दस जनासम्मले प्रयोग गर्ने कारण त्यस्ता क्याम्पहरूमा कोही एक जनामा सङ्क्रमण भेटिएमा अवस्था भयावह हुने अनुमानका साथ ज्वरोका बिमारी भेटिएका रुम र त्यसका आसपासका रुमका मजदुरहरूको समेत परीक्षण गर्ने गरिएको छ ।

भौतिक निर्माण क्षेत्रमा काम गर्ने कम्पनीका क्याम्पहरू, म्यानपावर सप्लाई गर्ने कम्पनीका क्याम्पहरू जहाँ एकै क्याम्पमा हजारौँ मान्छे बस्छन् त्यस्ता स्थानहरू भाइरस सङ्क्रमणको लागि निकै जोखिमपूर्ण मानिएका छन् । एकै व्यक्ति छोटो समयमै सयौं जना अन्य व्यक्तिको सम्पर्कमा पुग्ने भएकोले त्यस्ता स्थानमा बढी सजगता अपनाइएको देखिन्छ ।

कुनै पनि जोखिम नलिने र यदि कुनै शङ्कास्पद रुघाखोकीको बिमारी मात्र भेटिए पनि त्यो बिमारी भएको क्षेत्रलाई विशेष निगरानी गर्न सुरु गरिएको छ । नागरिक सचेतनाका कार्यक्रमहरू आक्रामक रूपमा प्रचार प्रसार गरिएको छ । दूतावासहरूले आफ्ना नागरिकहरूलाई सचेत गराएका छन् । धेरै वटा भाषामा अनुवाद गरेर सबैले बुझ्ने गरी भाइरसको सङ्क्रमणबाट बच्ने उपायहरू सामाजिक सञ्जालमा विज्ञापन गरिएको छ ।

कर्पोरेट हाउसहरू, ठूला अफिसहरू, बैङ्कहरू, होटलहरु लगायत उच्च जोखिम रहेका र धेरै व्यक्ति भेला हुने कार्यालयहरूका हरेक फ्लोरमा, हरेक प्रवेशद्वारहरूमा हात धुने केमिकलका डिस्पेन्सरहरु प्लान्ट गरिएका छन् । कसैसँग हात नमिलाउन र कसैसँग अङ्कमाल नगर्न नागरिकलाई सचेत गराइएको देखिन्छ । हात मिलाइसकेपछि नजिकैको हेन्ड वास केमिकलको प्रयोग गर्न सूचनाहरू टाँस गरिएको छ ।

यो सबै कुरा हेर्दा कतार सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणमा युद्दस्तरमा काम गरेको अनुभव हुन्छ । जोखिमयुक्त बिमारीको रेस्क्युमा मेडिकल टिमले देखाएको तदारुकता सह्रानीय छ । कतार भित्र कुनै पनि सङ्क्रमित व्यक्ति नभेटिए पनि शङ्कास्पद बिमारीको रेखदेख उच्चस्तरीय रहेको छ ।

Logo