होस्टन । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरूको मृत्यु भएको हो । त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो ।
त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरू बाटोमै रोकिएका थिए । बृद्धबृद्धाहरूको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।
आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिस विद्युत सेवा विहीन अवस्थामा रहेका छन् । त्यसैगरी कतिपय राजमार्ग बन्द भएका छन् । विशेष गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।
त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १ हजार २ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् । विमानस्थलका अधिकारीहरूका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् ।
शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवाहरू बन्द गरिएको उनीहरूले जानकारी दिएका छन् । शनिबार रातभरि र बिहानसम्म पनि वर्षा भएको उनीहरूले बताएका छन् । रासस/सिन्ह्वा





























प्रतिक्रिया