- विदुर खतिवडा-
सन् २००१ मा राष्ट्रपति बनेका जर्ज डब्लु. बुस र सन् २००९ मा ह्वाइट हाउस सम्हाल्न आएका बराक ओबामाले आ–आफ्ना कार्यकालमा गर्न नसकेको एउटा काम वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नै गरे ।
त्यो थियो, इरानका ६२ वर्षीय प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या । इरानका शक्तिशाली कमाण्डर सुलेमानीलाइ मार्न बुस र ओबामालाई पेन्टागनसहित उनीहरूका सुरक्षा सल्लाहकारले सल्लाह नदिएका होइनन् । तर त्यो आँट ट्रम्पअघिका दुई राष्ट्रपतिले गर्न सकेनन् । सुलेमानीलाई मारे त्यसपछि मध्यपूर्व राजनीतिमा आउने भुईंचालो थामिनसक्नु हुने ठहर बुस र ओबामाको थियो ।
त्यसो त, बुस आफैं आतंकवादविरुद्धको लडाइमा अफगानिस्तान मै अल्झिए भने ओबामा इरानसँग ऐतिहासिक आणविक सम्झौता गर्न व्यस्त बने । त्यसैले पनि मध्यपूर्वमा बढिरहेको सुलेमानीको प्रभाव कम गर्न उनको हत्या गरिहाल्नु आफ्नो राष्ट्रपतीय कालको ठूलो जोखिम हुने बुस र ओबामाको ठहर थियो ।
यता, ट्रम्पको सुरक्षा नीतिको कथा भने बेग्लै छ । आफ्नो पहिलो कार्यकाल पूरा हुन झण्डै एक वर्ष बाँकी रहेको अवस्थामै उनले चारजना सुरक्षा सल्लाहकार फेरिसके । उनी सल्लाहकार त राख्छन् तर तिनका कुरा केही पनि सुन्दैनन् । त्यसैले यसपटक पनि इरानलाई चलाउने आँट र साहस ट्रम्प एक्लैले गरे । उनी मध्यपूर्वको क्षेत्रीय शक्ति राष्ट्र इरान छिरेरै छाडे ।
सुलेमानी हत्याको सिलसिला गत सेप्टेम्बर दोस्रो साताबाट शुरु भएको बताइन्छ । सेप्टेम्बर १४ मा मध्यपूर्वको अर्को क्षेत्रीय शक्ति राष्ट्र साउदी अरेबियाका सबैभन्दा ठूला दुई तेल कम्पनीमाथि गरिएको आक्रमणले रियादलाई मात्र नभइ अमेरिकालाई पनि झस्काएको थियो ।
विश्वमा सबैभन्दा बढी तेल निर्यात गर्ने मुलुक साउदीलाई उक्त आक्रमणले ठूलो धक्का दियो । त्यसमाथि मध्यपूर्वमा अमेरिकाको सबैभन्दा नजिकको मित्र राष्ट्रमाथिको प्रहारलाई अमेरिकाले आफैमाथिको प्रहारका रूपमा लिएको थियो ।
यमनमा युद्धरत हुथी विद्रोहीले उक्त आक्रमणको जिम्मा लिए पनि हुथी समूहलाई इरानको भरपर्दो साथ छ । इरानले मध्यपूर्वमा युद्धरत सबैजसो शिया मिलिसिया समूहलाई साथ दिंदै आइरहेको छ । त्यसैले अमेरिकाको बुझाइमा साउदीका तेल कम्पनीमाथिको आक्रमणमा इरानकै प्रत्यक्ष संलग्नता थियो । ट्रम्प यसको बदला लिन उपयुक्त मौका हेरेर बसेका थिए ।
सन् २०११ मा शुरु भएको सिरिया द्वन्द्वमा राष्ट्रपति बसर अल असदको सत्ता टिकाउन होस् वा यमनमा जारी गृहयुद्धको मैदानमा विद्रोही हुथी समूहलाई टिकाइराख्न, यसमा प्रमुख हात सुलेमानीकै थियो । यति मात्र होइन, उनी इरानको मध्यपूर्वी मामिलाका मुख्य शिल्पीका साथै प्रमुख योजनाकार नै थिए ।
इरानको रिभोलुसनरी गार्ड कर्प्सको उच्चतम इकाई द क्विड फोर्सले सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिन्थ्यो । इरानमा उनी सर्वोच्च नेता तथा धर्मगुरु आयोतोल्लाह अली खोमेनीपछि दोस्रो दर्जामा थिए । त्यसैले उनी आफ्ना योजना र कामका बारे सीधै खोमेनीलाई नै रिपोर्ट गर्थे ।
क्विडमा उनको दुई दशकको नेतृत्व कालमा इरानले हेजबुल्लाहलाई बलियो मात्र बनाएन, लेबनान, यमन, सिरियाजस्ता द्वन्द्वग्रस्त मुलुकमा आफू समर्थित लडाकुलाई विस्तार पनि गर्दै लग्यो ।
मध्यपूर्वमा उनको बढ्दो प्रभाव अमेरिकाका लागि टाउको दुखाइ बन्दै गइरहेको थियो । त्यसमाथि खोमेनीले इरानको भावी राष्ट्रपतिका रूपमा चित्रित गर्दै लगेपछि जतिसक्दो छिटो उनलाई रोक्न अमेरिका आतुर थियो । यही मौकामा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा गत शुक्रवार अमेरिकाले ड्रोन प्रहार गरी सुलेमानीको हत्या ग¥यो ।
उनको मृत्युमा इरानले तीन दिनको राष्ट्रिय शोकको आयोजना गर्योे भने सर्वोच्च नेता खोमेनी श्रद्धाञ्जली दिँदा सम्भवतः आफ्नो जीवनकालमै सार्वजनिक स्थानमा पहिलो पटक रोए । सुलेमानीको शव यात्रामा दश लाख मानिस सडकमा ओर्लिए ।
इरानमा यसअघिका धर्मगुरुको निधनमा सन् १९८८ मा मात्र यति धेरै मानिस शवयात्रामा सहभागी भएका थिए । श्रद्धाञ्जली दिंदै गर्दा खोमेनीले अमेरिकातर्फ लक्षित गर्दै दुस्मनमाथि बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । खोमेनीको यही चेतावनीपछि अमेरिका–इरान युद्ध कति सम्भव छ भनेर विभिन्न अड्कलबाजी शुरु भएका छन् ।
सम्भव छ त विश्वयुद्ध ?
बीसौं शताब्दीको जस्तो युद्ध अब २१ औं शताब्दीमा नहुने तर्क बलियो बन्दै गइरहेका बेला अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।
अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरू अर्थप्रधान बन्दै गइरहेको अहिलेको विश्वमा युद्धको कल्पना गर्न नसकिने तर्क अघि सार्छन् । बीसौं शताब्दीमा जस्तो राजनीतिले समाज डो¥याउने समयमा मात्र युद्ध सम्भव थियो । अर्थले राजनीतिलाई डोर्याइरहेको अहिलेको विश्वमा युद्धको मूल्य निकै चर्को हुने भएकाले त्यसको जोखिम कुनै मुलुकले नउठाउने विश्लेषकहरूको तर्क छ ।
तर, ‘प्रोक्सी वार’को खतरा भने अबको समयमा झन् मौलाउने उनीहरूको तर्क छ । यस्तो युद्धको पछिल्लो उदाहरण सिरिया द्वन्द्व हो, जहाँ आफ्नो स्वार्थ बमोजिम अमेरिका र रुस एकआपसमा भिडेका थिए । इरानसँगको अमेरिकी तनाव बढ्दै जाँदा त्यही हुनेमा आशंका गरिएको छ ।
प्रोक्सी वार भए इरानको पक्षमा रुस र चीनजस्ता ठूला मुलुक खुलेर लाग्ने सम्भावना छ । किनभने सुलेमानीको हत्याको विरोध बेइजिङ र मस्कोले गरिसकेका छन् । त्यस्तै यमनको वर्षाैं लामो जारी युद्धमा विद्रोहीलाई सघाइरहेको इरानलाई रुसले साथ दिनु पनि मस्को तेहरानको पक्षमा उभिनेमा दुईमत नहोला ।
तर, इरानको पक्षमा पाकिस्तान पनि उभिए त्यसको असर दक्षिण एसियाली मुलुकमा पनि पर्ने सम्भावना देखिन्छ । त्यसमाथि भारतजस्तो क्षेत्रीय शक्ति मुलुक पनि कसैको पक्ष–विपक्षमा उभिए त्यसको प्रत्यक्ष असर नेपालले पनि चुकाउनुपर्नेमा कुनै शंका छैन ।
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले सुलेमानीको हत्या इरानसँग युद्ध शुरु गर्न नभई रोक्नका लागि भएको बताएका छन् । उनले सुलेमानीको हत्यालाई आतंकको शासनको अन्त्य भनी व्याख्या गरेका छन् । ट्रम्पको यस्तो अभिव्यक्तिबाट पनि अमेरिका इरानसँग सीधै युद्धमा होमिने मुडमा छैन भन्ने प्रतीत हुन्छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीहरूले पनि इरानसँग युद्ध नभई सुलेमानी मात्र प्राथमिकतामा रहेको संकेत गर्नुले पनि दुई मुलुक युद्धमा होमिने सम्भावना नरहेको देखाउँछ ।
अहिले अमेरिका आफै पनि आर्थिक शक्ति मुलुक चीनसँग व्यापार युद्धमा होमिएका बेला इरानसँग प्रत्यक्ष युद्ध लड्दै अर्थतन्त्र तहसनसन बनाउन चाहँदैन । अमेरिकी जनमतले समेत अबको अमेरिकाको लक्ष्य आर्थिक सुधार नै हो भन्ने देखाएका कारण पनि आफ्नै जमनतको उपेक्षा गर्दै वासिङटन इरानसँग तत्काल युद्धमा होमिने मुडमा नरहेको प्रस्ट हुन्छ ।
छिमेकी मुलुक भारत पक्ष–विपक्षमा उभिए त्यसको प्रत्यक्ष असर नेपालले पनि चुकाउनुपर्नेमा कुनै शंका छैन ।





























प्रतिक्रिया