इरानद्वारा बदलाको धम्की, समाप्त पारिदिने ट्रम्पको चेतावनी

इरानद्वारा बदलाको धम्की, समाप्त पारिदिने ट्रम्पको चेतावनी

केन्द्रबिन्दु
0
Shares

तेहरान ।

आफ्ना शीर्ष कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ । अमेरिकाको विरोधमा निकालिएको विशाल जुलुसपछि इरानको कोम शहरको मस्जिदमा रातो झण्डा फहराइएको छ । इरानी सभ्यतामा रातो झण्डा बदला र रगतको संकेत भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इरानले जनरलको हत्यापछि अमेरिकासँग बदला लिने धम्की दिएको थियो । इरानको धम्कीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानले आक्रमण गरे आफूले इरानलाई समाप्त पारिदिने चेतावनी दिएका छन् । यो आक्रमणमा अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने र त्यो इरानले झेल्न पनि नसक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा इरानी नागरिकले यसरी झण्डा राखिएको पहिलोपटक भएको पनि उल्लेख गरेका छन् । इरानमा अमेरिकासँग बदला लिनुपर्ने माग गरी लाखौं व्यक्तिले प्रदर्शन गरेका छन् । उनीहरूले ‘अमेरिका शैतान हो’ भन्ने नारा लगाएका छन् ।

आइतवार सुलेमानीको शव बगदादबाट इरान ल्याइएको थियो । सुलेमानीको अन्तिम यात्रामा अत्यधिक व्यक्ति सहभागी थिए । सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावासबाट इरानले ५२ अमेरिकीलाई बन्दी बनाएको थियो । ती बन्दीलाई छुटाउन अमेरिकालाई निकै कठिनाइ भएको थियो । त्यसकै बदलामा ट्रम्पले पनि ५२ ठाउँमा आक्रमण गरिने शब्द प्रयोग गरेका छन् ।

इराकले अमेरिकी आक्रमणको निन्दा गरेको छ । इराकी विदेश मन्त्रालयले बगदादस्थित अमेरिकी राजदूत म्याथ्यु ट्युलरलाई आइतवार स्पष्टीकरण लिएको छ । मन्त्रालयले उल्लेख गरेको छ, ‘अमेरिकी आक्रमणबाट इराकी सम्प्रभुताको स्पष्ट रूपमा उल्लंघन भएको छ । यसले अन्तर्राष्ट्रिय गठबन्धनको सहमतिको विपरीत छ ।’
अन्नपूर्णबाट

Logo