रियो डि जेनेरियाे । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरि अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति कार्यालय छोडेपछि उनले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उनले भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
प्रहरीका अनुसार सन् २०१३ को डिसेम्बर देखि २०१४ को मार्चसम्ममा त्यस संस्थामा जम्मा गरिएको रकमका बारेमा प्रहरीले आशंका गरेको हो । लुलाको संस्थाका प्रमुख पाउलो ओकामोटो र पूर्व अर्थ मन्त्री एन्टोनीयो पालोस्सीलाई पनि भ्रष्टाचार र मुद्रा अपचलन सम्वन्धी अभियोग लगाइएको छ ।
लुलाको राष्ट्रपतिको कार्यकाल सकिएपछिको विषयलाई लिएर अभियोग लगाउनु पूर्वाग्रहपूर्ण भएको लुलाका वकिलहरूले बताएका छन् । लुलाको पछिल्लो राष्ट्रपतिय कार्यकाल सन् २०१० मा सकिएको थियो । लुलाको कारोबार सामान्य र नियमित नै देखिने र कुनै अस्वभाविक नदेखिने उनका वकिलहरूको भनाइ छ ।
यसअघि अर्कै अभियोगमा दोषी ठहर भएर कारागार पठाइएका लुला केही महिनाअगाडि मात्रै जेलमुक्त भएका थिए । ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले जेलजीवन बिताएका थिए ।
वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो । ब्राजिलमा एउटा मुद्दामा तीनपटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकाले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनी थुनामुक्त भएका हुन् । पूर्व राष्ट्रपति लुलाले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न आरोप र अभियोग लगाइएको भन्दै आरोपको खण्डन गर्दै आएका छन् । रासस/सिन्ह्वा





























प्रतिक्रिया