नयाँ दिल्ली । भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिन यतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरू सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।
अधिकारीहरूले दिएको जानकारी अनुसार आन्दोलनकारीहरूमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्यान गएको छ । भारतका सञ्चारमाध्यमहरूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् ।
हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो । बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुस नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ । शुक्रबार पनि विरोध प्रदर्शनहरू जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको बताइएकाे छ । भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको बताइएको छ ।
उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी रहेको छ । तर पनि अधिकारीहरूले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरू, कर्नाटक, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरूमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ ।
त्यसैगरी बेङ्गलुरुमा भने सरकारले कर्फ्यु नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरूले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो ।
त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् । शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरू पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो । हवाई अधिकारीहरूका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडकहरू बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो ।

अधिकारीहरूले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् । प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचारहरू आइरहेका छन् । तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन ।
उता अधिकारीहरूले शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको बताएका छन् । यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको धरपकड हुने तथा उक्त विधेयकको विरोधमा जुलुसहरू निस्किने क्रम जारी नै रहने प्रदर्शनकारीहरूले जनाएका छन् ।
प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् । रासस/सिन्ह्वा





























प्रतिक्रिया