असममा कर्फ्युकाे बेवास्ता गर्नेमाथि गोली प्रहार

असममा कर्फ्युकाे बेवास्ता गर्नेमाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २६ ।  भारतको माथिल्लो सदनबाट नागरिकता संशोधन विधेयक पारित भएपछि त्यसको विरोध गर्दै असममा प्रदर्शन भएको छ। बिबिसीकानुसार केही क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्तसमेत भएको छ।

डिब्रुगढमा कर्फ्युको बेवास्ता गर्दै सडकमा प्रदर्शन भएपछि प्रहरीले गोली प्रहार गरेको समाचार संस्था बिबिसीले जनाएको छ। प्रदर्शनकारीले उग्र बन्दै प्रहरी माथिनै हमला गरेपछि गोली हान्नुपरेको डिब्रुगढका प्रहरी गौतम बोराले बिबिसीलाई बताए।

प्रदर्शनकाे क्रममा  भएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गुवाहटी राज्यका धेरैजसो ठाउँमा स्थानीय प्रशासनले इन्टरनेट सेवासमेत बन्द गरेको छ।  असममा पनि बिहीबार राति ७ बजेसम्मको लागि इन्टरेनट सेवा बन्द गरिएको छ। यसको असर सबै मोबाइल तथा डेटा कम्पनीको इन्टरनेट सेवामा परेको छ।

प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ट्वीट गर्दै नागरिकता विधेयकबाट कोही पनि चिन्तित हुन नपर्ने बताएका छन्। ‘कुनै पनि तपाईंको अधिकार, तपाईंको विशेष पहिचान र संस्कृति कसैले पनि खोस्न सक्दैन। म असमका भाइ-बहिनीलाई नागरिक विधेयकबाट चिन्तित हुनु पर्दैन भन्ने विश्वास दिलाउन चाहन्छु,’ मोदीले भनेका छन्।

स्थानीय मिडियाका अनुसार कश्मीरमा रहेका पाँच हजार सैनिक जवान असमलगायत राज्यमा पठाइँदैछ। गुवाहटीका प्रहरी कमिस्‍नर दीपककुमारले कर्फ्यु लगाइए पनि अत्यावश्यक सेवामा प्रतिबन्ध नलगाइएको बिबिसीलाई बताएका छन्। एम्बुलेन्स, मिडिया र विशेष आवश्यकता परी घरबाट बाहिर निस्कँदा पासको व्यवस्था गरिएको उनले जनाएका छन्।

डिब्रुगढमा पनि कर्फ्यु लगाइएको छ। त्यहाँ प्रदर्शनकारीले मुख्यमन्त्री सर्वानन्द सोनोवाल र कन्द्रीय मन्त्री रामेश्वर तेलीको घरलाई निशाना बनाएका छन्।

Logo