नयाँ दिल्ली ।
भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।
गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पु¥याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि बलात्कार गरेको आरोप लागेका दुई जनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।
बलात्कार सम्बन्धी अर्को घटनाका कारण उन्नाओ जिल्ला हालसालै समाचारमा आएको थियो। सत्तारुढ दल भाजपाका एक सांसदविरुद्ध हत्या अभियोगको मुद्दा प्रहरीले अगाडि बढाएको छ। कार दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाले भाजपा सांसदले बलात्कार गरेको अभियोग लगाइकी थिइन्। उक्त दुर्घटनामा ती महिलाका दुईजना नातेदारका मृत्यु भएको थियो भने तिनका वकिल घाइते भएका थिए।
बिबिसी





























प्रतिक्रिया