फिलिपिन्समा भिषण आँधीको त्रास

फिलिपिन्समा भिषण आँधीको त्रास

केन्द्रबिन्दु
0
Shares

मनिला,

फिलिपिन्समा शक्तिशाली आँधीका कारण ठूलो संख्यामा स्थानीयवासीको भागाभाग भएको छ । कामुरी नामको सो आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरूले जनाएका छन् ।

यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिणपूर्वी एसियाली खेलकुदको आयोजनामा पनि असर परेको छ । अधिकारीहरूले सो क्षेत्रबाट कैयौं व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् । हाल सो शक्तिशाली आँधी राजधानी मनिलाको नजिकै पुगेको छ । यसबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरूले पूर्वतयारी थालेका छन् ।

मौसम विज्ञान क्षेत्रका अधिकारीहरूले सो आँधी प्रतिघन्टा कम्तीमा पनि १८५ किलोमिटरका दरले आउने अनुमान गरेका छन् । यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरि पहिरो पनि जान सक्ने उनीहरूले बताएका छन् । सोमबार राति अबेर र मंगलबार बिहानतिर आँधीको असर देखिन सक्ने अनुमान उनीहरूले गरेका छन् ।

मंगलबार बिहानतिर फिलिपिन्सको राजधानी मनिला तथा यस देशको पूर्वी क्षेत्र नै प्रभावित हुने अनुमान उनीहरूको छ । आँधी र यसका साथमा भारी वर्षा पनि हुने अनुमान गरिएको छ ।

वर्षासँगै हुन सक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरूले तयारी गरेका बताइएको छ । अहिले आँधी मनिलाको नजिक पुग्न लागेको बताइएको छ । यदि मनिलामा यो प्रवेश ग¥यो भने यहाँको कम्तीमा पनि १ करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुनेछ । मनिलाबाट पूर्वी क्षेत्रमा रहेको बाइकुल भन्ने क्षेत्रबाट करिब ७० हजार व्यक्ति विस्थापित भइसकेका छन् ।

सो क्षेत्र छोड्न सरकारले सूचना जारी गरेको थियो । सो क्षेत्रमा आँधीसँगै भारी वर्षा र यसबाट पहिरो पनि जान सक्ने अनुमान मौसमविद्हरूले भविष्यवाणी गरेका थिए । फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ बर्सेनि सानाठूला गरी २० वटा जति आउने गरेका छन् । त्यसैले, यस समयमा यहाँका सुरक्षा अधिकारीहरूले पनि व्यापक तयारी गर्ने गरेका छन् ।
एजेन्सी

Logo