पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनी बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन् ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था गरी उपचार भइरहेको थियो । तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो ।
जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमति दिएको थियो । तीन पटकसम्म देशको प्रधानमन्त्री भएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरूले बताएका छन् । उनका चिकित्सकहरूका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका छन् । उनलाई उपचार गर्न विदेश जान दिने कि नदिने भन्ने विषयमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो । रासस





























प्रतिक्रिया