दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली,

भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य अधिकारीले जनाएका छन् । बुधबार बिहान नयाँदिल्लीको आकाशको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिन पुगेको उनीहरूको भनाइ रहेको छ।

बुधबार यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरूका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको छ।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रूपमा रहनु हो ।

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोयडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको बताइएको छ। बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीले जनाएका छन् ।

उक्त मापन अनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ। त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात् एकदमै खराब मानिन्छ।

अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रूपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रमा संकटकालीन अवस्था घोषणा गर्नुपर्ने हुन्छ। वायु प्रदूषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचार आइरहेका छन्।

नयाँदिल्ली र यहाँको वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ। विगतका केही सातादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्य ठप्प छन् भने दैनिक आवश्यकताका वस्तु परिपूर्तिमा समेत अप्ठेरो परेको छ।
सिन्ह्वा

Logo