इरानले यूरेनियम संकलन पाँच प्रतिशत पुर्‍याउने

इरानले यूरेनियम संकलन पाँच प्रतिशत पुर्‍याउने

केन्द्रबिन्दु
0
Shares

तेहरान ,

इरानले अब यूरेनियम संकलनलाई पाँच प्रतिशत पुर्‍याउने भएको छ । सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३.६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो । अमेरिकाले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि आर्थिक नाकाबन्दी कडा पारेको भन्दै आफूले अब यसलाई मान्न बाध्य नहुने घोषणा गरेको हो । इरानको आणविक शक्ति संगठनका प्रवक्ता बेहरूज कमालबन्दीले शनिबार भने, ‘हाम्रो आवश्यकताअनुसार र हामीलाई आएको मागअनुसार यूरेनियमको उत्पादन (प्रशोधन)लाई पाँच प्रतिशत पुर्‍याएका छौँ ।’

अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा इरानले यूरेनियमको प्रशोधन घटाउने सहमति भएको थियो । अमेरिकाले उक्त सम्झौताबाट फिर्ता भएको घोषणा गर्दै इरानमाथि सन् २०१५ पहिले लगाइएका प्रतिबन्धलाई निरन्तरता दिएपछि इरान भड्किएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको सम्झौताबाट अमेरिकालाई घाटा भएको दाबी गरेका थिए । यसपछि अमेरिकाले पुनः नयाँ सम्झौता गनुपर्ने धारणासहित हाल इरानविरुद्ध कडा नीति अवलम्बन गरेको छ । अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्ध लगाएर नयाँ सम्झौताका लागि तयार बन्न दवाब दिँदै आएको छ ।

यद्यपि इरानले अमेरिकी कदमको विरोध गर्दै सम्झौताअनुरूप अमेरिका अघि बढ्नुपर्ने बताउँदै आएको छ । यसका लागि इरानले सम्झौतामा हस्ताक्षर गरेका अन्य शक्ति राष्ट्रहरूलाई सम्झौता कार्यान्वयनका लागि आग्रह गर्दै आएको छ ।

इरानले सम्झौता कार्यान्वयनमा नआए आफूले मात्र यसलाई पालना गर्न बाध्य नहुने जिकिर गर्दै सम्झौताबाट क्रमशः फिर्ता हुने जनाउँदै आएको थियो । यसै प्रसंगमा इरानले आफ्नो यूरेनियम संकलन क्षमतालाई पाँच प्रतिशत पुर्‍याउने बताएको हो ।

एएफपी

Logo