टोकियो,
जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन् । एक सातामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानुनको उल्लंघन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
जापानी साप्ताहिक पत्रिका सुकान भुनसुनले जुलाईमा जापानी संसद्को माथिल्लो सदनमा ४६ वर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानुनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि ५६ वर्षीय न्यायमन्त्री कावाईले राजीनामा दिएका हुन् ।
कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानुनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानुनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएका थिए । मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।
प्रधानमन्त्री आवेलाई उनको कार्यालयमा राजीनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भने, ‘मेरो पत्नी एन्द्री वा म माथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौं । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’
हिरोसिमाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संसद्को तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले न्याय राज्यमन्त्री तथा विशेष कूटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।
यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गरेका छन् । उनले भने, ‘न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उनीमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।’
एजेन्सी





























प्रतिक्रिया