इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् ।
निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयानुसार बिहान करिब ८.४५ बजे भूकम्प आएलगत्तै मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घरहरु निकै जोडसँग हल्लिएका थिए ।
करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ । टेलिभिजन फुटेजहरुमा घरका पर्खालहरु भत्किएको र मानिसहरु उपचारका लागि भौंतारिरहेको देखिएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको बताउनुभयो ।
यता पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ ।
पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।





























प्रतिक्रिया