विवाहपूर्व सेक्समा सरकार कडा हुन खोज्दा इन्डोनेसियामा प्रदर्शन

विवाहपूर्व सेक्समा सरकार कडा हुन खोज्दा इन्डोनेसियामा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसिया,

इन्डोनेसियामा सरकारले ल्याएको एक विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ। विवाहपूर्वकको यौनसम्बन्धका बारेमा रहेको कानुनी व्यवस्था संसोधन गर्न ल्याइएको विधेयकविरुद्ध इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ।

विवादित विधेयकमा विवाह अघि यौनसम्बन्धलाई गैरकानुनी मानिएको छ। प्रस्तावित विधेयकमा गर्भपातलाई पनि गैरकानुनी ठहराएको छ। प्रहरीले इन्डोनेसिया संसद भवन अगाडी प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीका फोका र अश्रु ग्यास प्रहार गरेका छन् । अलग अलग ठाउँमा हजारौं प्रदर्शनकारीले सरकारविरुद्ध नारा जुलुस गरेका छन्।

प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ।प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा हानेपछि प्रहरीले पनि प्रदर्शन नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको हो। कडा विरोध भएपछि विधेयक संसदमै रोकिएको छ। तर प्रदर्शनकारीहरु भने विधेयक पास हुने संभावना रहेको भन्दै विरोधमा उत्रिएका छन्।

संसद्‌मा मंगलबार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका थिए। यसअघि देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरेकाले पनि त्यहाँका मानिस आक्रोशित भएका हुन्।

एउटी महिलाले मेरो अंगमा सरकारको स्वामित्व छैन भन्ने नारा लेखिएको पोस्टर बोकेकी थिइन्।

भ्रष्टाचार नियन्त्रण गर्ने निकाय सम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्‌तिर गएर विरोध गर्दैछौँ, पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भनेका छन् । जकार्तामा सुरक्षाका लागि ५ हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ।
एजेन्सी

Logo