कतार ।
कतारमा कोरोनाका सङ्क्रमित घटेर दुई हजार भन्दा कम भए पनि खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको हो भने वुधबारबाट लगाउन सुरु गरिएको छ । पहिलो खोप कतार युनिभर्सिटीका भूतपूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसीले अल थुमामा हेल्थ सेन्टरमा पुगेर लगाएका छन् ।
कोरोना विरुद्ध कतारले आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए । खोपको पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने छ । पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरू, १६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घरोगीहरूका लागि खोप उपलब्ध हुने डा. अल खलले बताए । खोप अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट लिन सकिनेछ ।
खोपका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ । कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराई सक्ने जनाएको छ ।





























प्रतिक्रिया