सिड्नी,
अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन् । चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नु परेको अमेरिकी भनाइ छ।
रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे । अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु ।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन् ।
अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए । उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन । यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं ।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए ।
अमेरिका शुक्रबार आईएनएफ सन्धिबाट पछि हटेको थियो । उक्त सन्धि रूसले नमानेको आरोप अमेरिकाको छ । उक्त सन्धिलाई लिएर अमेरिका र रूसबीच विवाद छ । सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाचोभबीच उक्त सन्धि भएको थियो ।
सन्धिबाट फिर्ता भएपछि मध्यमस्तरका क्षेप्यास्त्र प्रयोग गर्न अमेरिका स्वतन्त्र भएको छ । हाल चीनसँग भएका अधिकांश हतियार मध्यम स्तरका मार हान्ने क्षमताका क्षेप्यास्त्र छन् । आईएनएफ सन्धिमा हस्ताक्षर नगरेकाले चीनले यस्ता क्षेप्यास्त्र विकास गर्दै आएको छ ।
एजेन्सी





























प्रतिक्रिया