पुटिनका कट्टर आलोचक नाभाल्नीको अन्त्यष्टिमा पुगेका समर्थकले भने- ‘पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ’

पुटिनका कट्टर आलोचक नाभाल्नीको अन्त्यष्टिमा पुगेका समर्थकले भने- ‘पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमीर पुटनका सबैभन्दा कडा आलोचक एलेक्सी नाभाल्नीको अन्त्यष्टि गरिएको छ। १६ फेब्रुअरीमा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्यष्टि ढिला गरी शुक्रबार भएको हो।

उनको अन्त्यष्टिमा उपस्थित भएर नारावाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो। तर, नाभाल्नीका धेरै समर्थकहरु गिरफ्तारीमा पर्ने डरकाबीचमा पनि अन्त्यष्टिका लागि सहभागी भएका थिए।

अन्त्यष्टि समारोहमा अमेरिका, फ्रान्स, जर्मनीलगायत देशका राजदूतले पनि नवल्नीलाई श्रद्धाञ्जली दिएका छन्। यसैगरी नाभाल्नीका आमाबाबुले मस्कोको चर्चमा अन्त्येष्टि समारोहमा भाग लिए।

समर्थकहरुले ‘धन्यवाद नाभाल्नी’,‘पुटिन बिनाको रुस’,‘रुस छिट्टै स्वतन्त्र हुनेछ’ जस्ता नारा लगाएका थिए। यस अवधिमा सयौं प्रहरी पनि तैनाथ गरिएको थियो। चर्च बाहिर उपस्थित मानिसहरू रोएर गुलाब र अन्य फूलहरू भित्र फालेका थिए।

बीबीसीका अनुसार यस अवधिमा मस्कोका धेरै ठाउँमा मोबाइल र इन्टरनेट सेवाले राम्रोसँग काम गरिरहेको थिएन। न्युयोर्क टाइम्सले उक्त समारोहलाई प्रत्यक्ष देखाउने वेबसाइटलाई उद्धृत गर्दै अन्तिम विदाईको समयमा करिब २ लाख ५० हजार मानिसले यसलाई अनलाइन हेरेको बताएको छ। जबकि युट्युबमा करिब १.५ लाख मानिसले अन्तिम संस्कारको सम्पूर्ण कार्यक्रम हेरे।

गत फेब्रुअरी १६ मा पुटिन विरोधी नेता नाभाल्नीको जेलमै मृत्यु भएको थियो। उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। इन्डिपेन्डेन्ट रुसी अखबार नोभाया गजेटा युरोपले एक चिकित्सकलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा नाभाल्नीलाई अस्पताल ल्याउँदा उनको टाउको र छातीमा घाउ रहेको दाबी गरेको छ। रुसको सबैभन्दा खतरनाक जेल पोलर वुल्फमा नाभाल्नीको मृत्यु भएको थियो।

Logo