आक्रमण राेक्न दबाब बढ्दै जाँदा इजराइली रक्षामन्त्रीले अमेरिकाको भ्रमण गर्ने

आक्रमण राेक्न दबाब बढ्दै जाँदा इजराइली रक्षामन्त्रीले अमेरिकाको भ्रमण गर्ने

केन्द्रबिन्दु
42
Shares

जेरुसेलम । गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लागेकाे सरकारले बुधबार बताएको छ ।

अमेरिकाले समेत विरोध गरेको नियोजित आक्रमणका बारेमा छलफल गर्न ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधमा’ एउटा प्रतिनिधिमण्डल अमेरिका जाने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले घोषणा गरेको छ । अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणको जवाफमा युद्ध सुरु भएपछि वासिङ्टनको आफ्नो पहिलो भ्रमणका क्रममा ग्यालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट गर्नेछन् तर भ्रमणको मिति घोषणा गरिएको छैन ।

“उहाँले हमासले बन्धक बनाएका सबै बन्धकको रिहाई सुनिश्चित गर्ने प्रयास, प्यालेस्टिनी नागरिकसम्म पुग्नका लागि थप मानवीय सहायताको आवश्यकता र रफामा शरण लिएका १० लाखभन्दा धेरै मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाहरूबारे कुराकानी गर्नुहुनेछ”, एक अमेरिकी रक्षा अधिकारीले भने ।

प्रधानमन्त्री नेतान्याहुले गाजामा हमासलाई समाप्त पार्न रफामा अपरेसन आवश्यक रहेको बताएका छन् तर गाजाका अन्य भागबाट विस्थापित भएका सहित रफामा १५ लाख मानिसको उपस्थितिले ठूलो मानवीय हताहत हुने चिन्ता बढाएको र यस क्षेत्रमा मानवीय सङ्कट थप गहिरो बनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार आफूले नेतान्याहुलाई रफामा पूर्णस्तरको सैन्य अभियानबाट बच्ने तरिकाबारे छलफल गर्न एउटा टिमलाई वासिङ्टन पठाउन भनेको बताएका थिए ।

नेतान्याहुको कार्यालयले रणनीतिक मामिलामन्त्री रोन डर्मर र राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले अनुरोध गरिएको वार्ता गर्ने बताएको छ । यद्यपि कार्यालयले वासिङ्टनका लागि प्रतिनिधिमण्डल कहिले प्रस्थान गर्नेछ भन्नेबारे केही बताएको छैन ।

अमेरिकी रक्षामन्त्री अस्टिनसँगको इजराइली रक्षामन्त्री ग्यालान्टको निर्धारित बैठक बाइडेनले अनुरोध गरेकाे प्रतिनिधिमण्डलको भ्रमणसँग अलग भएको अमेरिकी रक्षा अधिकारीले बताएकाे छन् । -एएफपी

Logo