तेस्रो प्रयासमा सुब्यान्टोलाई सफलता, चुनिए इन्डोनेसियाको नयाँ राष्ट्रपति

तेस्रो प्रयासमा सुब्यान्टोलाई सफलता, चुनिए इन्डोनेसियाको नयाँ राष्ट्रपति

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा वर्तमान रक्षामन्त्री प्राबोवो सुब्यान्टो निर्वाचित भएका छन्। १४ फेब्रअरीमा भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक गर्दै प्राबोवो राष्ट्रपतिमा निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ।

उनले अब जोको विडोडोको स्थान लिनेछन्।इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफ्नो अधिकतम दुई कार्यकाल पूरा गरेका छन्। बुधबार मतगणना सकिएपछि सुब्यान्टोले ५८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

उनीसँग चुनाव लडेका जकार्ताका पूर्वगभर्नर एनीस बास्वेदनले २४ दशमलव ९ प्रतिशत र सेन्ट्रल जाभाका पूर्वगभर्नर गन्जर प्रनोवोले १६ दशमलव ५ प्रतिशत मत प्राप्त गरे। तर,पराजितद्वय प्रतिस्पर्धी अनीस बास्वेदन र गञ्जर प्रणोभोले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।

दुवै उम्मेदवारले निर्वाचन परिणामलाई अदालतमा चुनौती दिने बताएका छन्। दुवै नेताले यही साता अदालतसमक्ष यो विषय पेस गर्नुपर्नेछ। इन्डोनेसियामा चुनावी विवादलाई आधिकारिक नतिजा घोषणा भएको तीन दिनभित्र अदालतमा चुनौती दिन सकिने व्यवस्था गरिएको छ।

इन्डोनेसियाले सन् १९९८ देखि लोकतान्त्रिक अभ्यास अपनाउँदै आएको छ। इन्डोनेसियाको २७ करोड जनसंख्यामध्ये करिब २० करोड मानिस मतदाता छन्। राष्ट्रपतिको चुनाव जित्नका लागि उम्मेदवारले कुल मतको ५० प्रतिशत र सबै राज्यमा २० प्रतिशत मत प्राप्त गर्नुपर्छ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने व्यवस्था छ। प्रबोवोले ५० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन्।

लगातार तेस्रो पटक राष्ट्रपतिको चुनाव लडेका उनी यसअघि २०१४ र २०१९ मा जोकोवीसँग पराजित भए पनि तेस्रो पटक राष्ट्रपति निर्वाचनमा विजयी बनेका छन्। वर्तमान राष्ट्रपति जोकोवीका छोरा जिब्रान राकाबुमिङ राकाले सुब्यान्टोसँगै उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका छन्।

Logo