काठमाडौं। युद्धको समयमा भएको थिचोमिचोलाई आफ्नो पक्षपोषण हुनेगरी पाठ्यपुस्तकमा समावेश गरेको बिषयले पुराना प्रतिद्वन्दी जापान र दक्षिण कोरियाबीच फेरि तनाव उत्पन्न भएको छ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले सियोलस्थित जापानी राजदूतलाई बोलाएर जापानले युद्धकालको अत्याचारको प्रसंगलाई आफू अनुकूल अर्थ लाएको र दक्षिण कोरियाको पूर्वी भागको डोक्डो टापुहरूमाथि आफ्नो क्षेत्रीय दाबीलाई सुदृढ पार्नेगरी विद्यालयको पाठ्यपुस्तकहरूमा समावेश गरेको कुरा प्रति विरोध जनाएको समाचार एजेन्सी योन्यापले जनाएको छ।
उप विदेश मन्त्री किम होङ–क्युनले दक्षिण कोरियाका लागि जापानी राजदूत कोइची आइबोशीलाई बोलाएर विरोध जनाउँदै यस विषयमा कडा शब्दमा खेद प्रकट गरेको समाचारमा जनाईएको छ।
जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले आगामी वर्ष २०२५ देखि माध्यमिक विद्यालयहरूका पाठ्यपुस्तकहरु भूगोल, नागरिकशास्त्र र इतिहासमा समावेश हुनेगरी १८ पाठ्यपुस्तकहरू स्वीकृत गरेको छ।
मन्त्रालयका प्रवक्ता लिम सु–सुकले एक टिप्पणीमा भने, ‘डोकडोको बारेमा अन्यायपूर्ण दावीको आधारमा जापान सरकारले माध्यमिक विद्यालयको पाठ्यपुस्तकहरू अनुमोदन गरेकोमा सरकार गहिरो खेद प्रकट गर्दछ।’
लिमले ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानुनले डोक्डो दक्षिण कोरियाको आफ्नै भूभाग भएकोमा जोड दिँदै डोक्डोबारे जापानको कुनै पनि सार्वभौमसत्ताको दाबी स्वीकार गर्न नसकिने बताए।
लिमले जापानी सेनाले यौन दासत्व र जबरजस्ती श्रमको वर्णनमा ‘जबरदस्ती प्रकृतिलाई प्रकट गर्दैन’ भनेर कडा खेद पनि व्यक्त गरे, टोकियोलाई माफी र पश्चात्तापको भावनामा आधारित इतिहास शिक्षालाई व्यवहारमा ल्याउन आग्रह गरे।
अर्को एक पाठ्यपुस्तकले कोरिया, चीन र फिलिपिन्सका यौन दासत्व पीडितहरूलाई सैन्य वेश्यालयमा जापानी सैनिकहरूको सेवा गर्न बाध्य पारिएको भागमा ‘सैन्य कम्फर्ट वुमन’ भन्ने वाक्यांश हटाएको थियो। सन् २०२१ मा जापानी सरकारले प्रकाशकहरूलाई ‘सैन्य कम्फर्ट वुमन’ को सट्टा ‘कम्फर्ट वुमन’ प्रयोग गर्न सल्लाह दिएको थियो।
प्रतिक्रिया