बान्जुल,
गाम्बियाकी २३ वर्षीया पूर्वब्युटि क्विन फातोउ ‘तोउफाह’ ज्याल्लोले कार्यकालमै रहेको अवस्थामा गाम्बियाका पूर्वराष्ट्रपति याहया जाम्मेहले आफूलाई बलात्कार गरेको सार्वजनिक गरेकी छिन् ।
जाम्मेहविरुद्धको अर्को बलात्कारको अभियोग बारे साक्षी बस्ने हिसाबले र्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलका लागि बयान दिने क्रममा उनले सो आरोप लगाएकी हुन् । बीबीसीले हाल इक्वेटोरियल गिनियामा निर्वासित जीवन बिताउँदै आएका जाम्मेहसंग सो अभियोग सम्बन्धमा सोधपुछ गर्न सम्पर्क राख्ने प्रयास गरेको छ । तर उनको एपीआरसी पार्टीका प्रवक्ताले उनीविरुद्ध लगाइएका आरोपहरु अस्वीकार गरेका छन् ।
बीबीसीलाई लिखित बयान दिने क्रममा प्रवक्ता ओउसम्यान र्याम्बो जात्ताले भनेका छन– ‘हामी एउटा राजनीतिक पार्टी र गाम्बियाली जनताको हैसियतले हाम्रा पूर्वराष्ट्रपतिविरुद्ध लगाइएका अनावश्यक अभियोगबाट वाक्क दिक्क भइसक्यौं । पूर्वराष्ट्रपतिसँग झुठा कुरा बारे प्रतिक्रिया दिइरहने फुर्सत छैन ।
भगवानसँग डराउने उनले गाम्बियाली महिलालाई सम्मान गर्न बाहेक अरू जानेकै छैन ।’ तर ज्याल्लोले आफूले न्याय पाउन ५४ वर्षीय जाम्मेहसंग अदालतमै भेट्न चाहेको बताएकी छिन् ।
एजेन्सी





























प्रतिक्रिया