भेनेजुएलामा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाब दिन आग्रह

भेनेजुएलामा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाब दिन आग्रह

केन्द्रबिन्दु
56
Shares

काराकास । भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गरेकी छन् ।

डेमोक्र्याटिक युनिटरी प्ल्याटफर्म (पीयूडीकी) नेतृ ८० बर्षीया मारिया कोरिना माचाडोले गत वर्षको अक्टोबरमा विपक्षी प्राइमरी चुनावमा भारी जित हासिल गरेपनि भ्रष्टाचारको आरोप लागेपछि अदालतले उनलाई १५ वर्षका लागि सार्वजनिक पद धारण गर्नबाट प्रतिबन्ध लगाएको थियो ।

पीयूडी गठबन्धनले माचाडोको विकल्पमा कोरिना योरिसको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । “म विश्वका लोकतान्त्रिक नेताहरूलाई त्यहाँका राष्ट्रपति र सरकारहरूको प्रयासमा सामेल भई मादुरो सरकारलाई विपक्षीको उम्मेदवार योरिसलाई राष्ट्रपति चुनावमा उम्मेदवारको रूपमा नाम दर्ता गर्न दबाव दिन आग्रह गर्नुभएको छ ।”

“उनीहरूले हाम्रो सङ्घर्ष निष्पक्ष र लोकतान्त्रिक छ भन्ने पुष्टि गरेका छन्,” माचाडोले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

माचाडोले कोलम्बिया र ब्राजिललगायतका काराकासको ‘परम्परागत सहयोगी’ देशलाई धन्यवाद दिएकी छन् भने संयुक्त राज्य अमेरिका र फ्रान्ससँग मिलेर उम्मेदवार योरिसलाई बहिष्कृत गरिएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

योरिसलाई पहिले देखि नै विपक्षीको दोस्रो वैकल्पिक उम्मेदवारका रूपमा तयार पारिएको थियो । -एएफपी

Logo