नयाँ दिल्ली,
भारतको सुख्खा क्षेत्रमा पर्ने सहरको तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ । पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सियस पुगेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सियस पुगेको थियो । यो देशकै सबैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो ।
भारतमा सन् २०१६ को मे मा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सियस मापन गरिएको अधिकारीहरूले जनाएका छन् । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो ।
अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्यांक छ । अरूको पनि मृत्यु भएको दाबी गरिएको छ । भारतीय मौसम विभागले राजस्थान र मध्यप्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ ।
नजिकैका प्रदेशहरू नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरूको भनाइ छ । नयाँ दिल्लीमा सोमबार झन्डै ४० डिग्री तापक्रम महसुस गरिएको छ । “यो साँच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौँ र ? आफ्नो काम गरिरहनु पर्छ,” एक स्थानीय लक्ष्मी जगदीशले भने ।
एजेन्सी





























प्रतिक्रिया