इस्लामावाद,
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोन मार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयले पनि इमरानले फोन गरेर बधाई दिएको पुष्टि गरेको छ । दुई नेताको फोनपछि दुबै देशका विदेश मन्त्रालयले बिज्ञप्ति जारी गरेका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए ।’ दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोर्याउँदै खानले मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताएको विज्ञप्तिमा उल्लेख छ ।
यता भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतंकवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ,’ उल्लेख छ ।
गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि मोदी र इमरानबीच पहिलोपटक फोनवार्ता भएको सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद) ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए । जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो ।
मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् बधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो । मोदी र उनको हिन्दू राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि उनलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले टेलिफोन गरेका हुन् ।
एएफपी





























प्रतिक्रिया