जकार्ता
इन्डोनेशियाका योजनामन्त्रीले आफ्नो राजधानी जाकार्ताबाट सार्न लागेको जानकारी दिएका छन् । योजनामन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुंगो लगाएको बताए ।
जकार्ता विश्वमा तिव्र गतिमा डुबिरहेका विश्वका सहरहरु मध्येको एक हो । सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ । त्यसका प्रमुख कारणमध्ये एउटा पिउन र नुहाउनका लागि जमिनमुनिको पानी तान्नु रहेको बताइन्छ । राजधानी सार्ने निर्णय भएपनि कहाँ सार्ने भन्ने टुंगो लागेको छैन ।
यद्यपि सरकारी सञ्चारमाध्यममा आएका रिपोर्टहरू अनुसार बोर्निओ टापुमा पर्ने पलांगकराया नयाँ राजधानी हुने सम्भावना छ । जकार्तामा करिब एक करोड मानिस बस्छन् । यसै महिनाको सुरूतिर आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि पछिल्लो निर्णय बाहिर आएको हो ।
जकार्ता सहरलाई छोएर बग्ने १३ वटा विभिन्न नदिहरूका कारण सो सहर कमजोर जमिनको तटमा अवस्थित छ । सन् १९४५ मा स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटक–पटक उठ्दै आएको छ ।
सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको थियो । योजनामन्त्रीका अनुसार जर्कातामा ट्राफिक जाम व्यवस्थापनमा प्रतिवर्ष ६.८ अर्ब डलर हुने गरेको छ ।
एजेन्सी





























प्रतिक्रिया