श्रीलंकामा फेरि विस्फोट: अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल प्रतिबन्ध

श्रीलंकामा फेरि विस्फोट: अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो फेरि बम बिस्फोट भएको छ । राजधानी कोलम्बोस्थित देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

लगातार बम विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ।

यसैबीच आइतबार बिहान विभिन्न ठाउँमा श्रृखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ । हमलापरी ९ जना विदेशीको पनि ज्यान गएको छ । राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा ५०० भन्दा बढी घाइते भएका छन्।

पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएको थियो । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका बीबीसीले जनाएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएका थिए । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले उक्त हमलाको निन्दा गर्दै जाँचको लागि सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।

Logo