एजेन्सी । प्रधानाध्यापकविरुद्ध यौन हिंसाको आरोप लगाउने एक छात्राको विद्यालय परिसरभित्रै हत्या गरिएको छ । बंगलादेशको मद्रासा इस्लामिक स्कूलमा अध्ययनरत नुसरत जाहा राफीलाई विद्यालय परिसरभित्रै जलाएर हत्या गरिएको हो ।
ढाकाबाट १६० किलोमिटर टाढा रहेको फेनीमा बस्दै आएकी १९ वर्षीया नुसरतले निकै साहस गर्दै प्रधानाध्यापकले यौन हिंसा गरेको भन्दै उजुरी दिएकी थिईन् । तर उजुरी दिएपछि विद्यालय परिसरमै उनको जलाएर हत्या गरियो । यौन उत्पीडनविरुद्ध आवाज उठाउने उनको साहस, यसबारे जानकारी दिएको पाँचदिनभित्रै हत्या गरिएको र त्यसबीचमा जे जति घटना भए त्यसले निकै चर्चा बटुलेको छ ।

मार्च २७ मा उनले आफूलाई स्कूलका प्रधानाध्यापकले अफिसमा बोलाएर अनैतिक तरिकाले पटकपटक छोएको जानकारी दिएकी थिईन् । आफूमाथि थप हिंसा हुनुअघि त्यहाँबाट भागेको उनले बताएकी थिईन् । बंगलादेशका थुप्रै किशोरी तथा महिलाले आफूमाथि भएको यौनहिंसालाई समाजको डरले गोप्य नै राख्छन् । नुसरत यसकारण भिन्न भइन् किनभने उनले यसविरुद्ध आवाज मात्र उठाइनन्, घटना भएकै दिन आफ्नो परिवारसँग पुलिस स्टेशनमा गएर यसबारे जानकारी दिइन् ।

एक स्थानीय पुलिस स्टेशनमा उनले आफ्नो बयान दर्ता गरिन् । उनलाई आफूमाथि के भएको थियो भनेर बताउनका लागि सुनिश्चित वातावरण प्रदान गर्नुपर्ने साटो एक पुलिस अधिकारीले बयान दिइरहेका बेला उनको भिडियो खिचे ।
उक्त भिडियोमा नुसरत निकै आत्तिएकी थिइन् र बारम्बार आफ्नो अनुहार हातले लुकाउन खोजिरहेकी थिईन् । उनले बयान दिइरहँदा पुलिसले ‘खासै ठूलो केही होइन’ भनेका थिए । पछि उक्त भिडियो स्थानीय मिडियाबाट सार्वजनिक भएको थियो ।
मार्च २७ तारिखमा उनी पुलिस स्टेशनमा गएपछि प्रधानाध्यापकलाई पक्राउ गरियो । त्यसपछि नुसरतका लागि समस्या सुल्झनुको साटो थप बढ्यो । प्रधानाध्यापकको रिहाईका लागि मानिसहरु सडकमा जम्मा भए । विद्यालयका दुई छात्र र केही राजनीतिज्ञको अगुवाइमा विरोध कार्यक्रम गरियो । मानिसहरुले नुसरतमाथि विभिन्न आरोप लगाउन थाले । त्यसपछि परिवार उनको सुरक्षाका लागि चिन्तित हुन थाल्यो ।

यस्तो समस्याका बीच अप्रिल ६ तारिखमा, यौनहिंसा भएको ११ दिनपछि नुसरत अन्तिम परीक्षाका लागि स्कूल गइन् । नुसरतले दिएको बयान अनुसार उनका साथीले एकजना साथी कुटिएको भन्दै उनलाई विद्यालयको छतमा लगिन् । जब नुसरत छतमा पुगिन् तब बुर्का लगाएका चार–पाँचजनाले उनलाई घेरेर प्रधानाध्यापकविरुद्धको आरोप फिर्ता लिन दबाब दिए । जब उनले अस्विकार गरिन्, तब उनीहरुले उनलाई आगो लगाए ।
आगो लगाईएपछि उनलाई स्थानीय अस्पताल पुर्याईदा उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो । त्यहाँ उपचार सम्भव नभएकाले उनलाई ढाका मेडिकल कलेज हस्पिटल लगिएको थियो । एम्बुलेन्सभित्रै, आफू नबाँच्ने जस्तो लागेपछि, उनले आफ्नो दाइको मोबाइलमा बयान रेकर्ड गरिन् ।

‘मलाई शिक्षकले छोए । उनको यो अपराधविरुद्ध म अन्तिम साससम्म लडिरहनेछु,’ उनले यस्तो भनेको सुन्न सकिन्छ । आफूमाथि हमला गर्ने केही विद्यार्थीबारे पनि उनले जानकारी दिएकी थिईन् । नुसरतको स्वास्थ्यबारे बंगलादेशी मिडियाले निकै चासो दिए । अप्रिल १० मा उनको मृत्यु भयो ।
पुलिसले अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ, तीमध्ये सातजना उनको हत्यामा संलग्न छन् । पक्राउ परेकामध्ये दुईजना ती छात्र हुन् जसले प्रधानाध्यापकको रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रधानाध्यापक जेलभित्र छन् ।
नुसरतले बयान दिइरहेको भिडियो खिच्ने पुलिसलाई अर्को विभागमा सरुवा गरिएको छ । प्रधानमन्त्री शिख हसिनाले ढाका गएर नुसरतको परिवारलाई भेटेकी छिन् । उनले हत्यामा संलग्न प्रत्येकलाई कानूनको दायरामा ल्याउने बचन दिइन् । बीबीसीको सहयोगमा





























प्रतिक्रिया