पेरिस
फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नर्थदाम क्याथेद्रालमा लागेको भीषण आगो मंगलवार बिहान नियन्त्रणमा आएको छ ।
आगलागीबाट क्याथेद्रालको शिखर र छाना भत्किएर भुइँमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रूपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरूले क्याथेद्राल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको वितण्डा हेरेका थिए ।
आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो । अग्निनियन्त्रकले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए ।
आगोले ८५० वर्ष अघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको छ । विशिष्ट शैलीको यो छाना र शिखरलाई आगोको लप्काले छोपेको थियो । यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा विलीन बनायो ।
फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोँले मुलुकको महत्वपूर्ण स्थलका रूपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गरेका छन् । उनले अग्निनियन्त्रकहरूको प्रयासका कारण गिर्जाघर पूर्णरूपमा क्षति हुनबाट बचेको बताए । पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउद ग्यालेतले नर्थदाम क्याथेद्राल गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए ।
करिब ४ सय अग्निनियन्त्रकहरू रातभर आगो नियन्त्रणमा जुटेका थिए । मंगलवार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । त्यहाँ उपस्थित सयौं व्यक्तिले ‘हे ईश्वर यो गिर्जाघर बचाऊ’ भन्दै प्रार्थना गरेका थिए ।
प्रमुख ग्यालेतले गिर्जाघरको छाना र शिखर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए । फ्रान्सेली गृहसचिव लरेँत नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्यांकन गर्न लागेको बताए ।
एएफपी





























प्रतिक्रिया