अमेरिका र चीन विश्व राजनीतिमा खुलेर आमने–सामने उभिएका छन् । विश्वमाझ राजनीतिक वृतमा चीनको यस्तो उपस्थिती एकदमै नौलो हो । उदाउँदो अर्थतन्त्र चीनले आफ्नो आन्तरिक राजनीतिक प्रणलीलाई पनि उदारवादी सोंचका साथ अघि बढाउने पश्चिमा देशले परिकल्पना गरेका थिए । तर त्यस्तो भएन ।
अमेरिकाले चीनलाई विश्व राजनीतिको एउटा जिम्मेवार हिस्सेदार मान्छ । तर, चीनले त्यस अनुरुप आफुलाई परिपक्व बनाउदै नलगेको अमेरिकी राजनीतिकशास्त्रीहरुको ठम्याइ छ । के यस्तो अवस्थामा विश्वका दुई ठूला अर्थतन्त्र मुलुकवीच युद्धको खतरा छ ? जसले सम्पूर्ण विश्वलाई नै असर पार्ला ।
यसै सन्दर्भमा अमेरिकाको विश्वविख्यात हार्वड विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक ग्राह्म एलिसनले एउटा पुस्तक लेखेका छन्, Destined For War: Can America and China Avoid Thucydides Trap? यो पुस्तकमा प्राध्यापक एलिसनले अमेरिका र चीनवीच देखिएको पहिलो हुने होडले विश्वलाई कता डो¥याउला भनेर प्रक्षेपण गरेका छन् । एलिसनको यो पुस्तक विश्वभरका नीति निर्माता, शिक्षा र शोध क्षेत्र तथा पत्रकारमाझ लोकप्रिय भइसकेको छ ।
एलिसनले अहिलेको विश्वलाई प्रख्यात ग्रीक इतिहासकार थुसाइडिड्सको समयसंग तुलना गरेका छन् । थुसाइडिड्सले पाँचौं शताब्दीमा एथेन्स र स्र्पाटाविच भएको युद्धको इतिहास लेखेका थिए । पांचौं शताब्दीको उक्त इतिहासले भन्छ, उदोउँदो शक्तिले जहिले पनि स्थापित शक्तिलाई चुनौती दिन्छ । प्राचिन ग्रीक सभ्यतामा एथेन्सले स्र्पाटालाई त्यसैगरि चुनौती दिएको थियो, जसरी १९ औं शताब्दीमा जर्मनीले बेलायतलाई दियो । एलिसन भन्छन्– अहिले उदाउँदो चीनले स्थापित अमेरिकालाई त्यही गर्दैछ ।
प्राध्यापक एलिसनले आफ्नो पुस्तकमा पाँच सय वर्ष यताको इतिहासलाई समिक्षा गर्दै १६ वटा त्यस्ता दृष्टान्त प्रस्तुत गरेका छन् जहाँ उदाउँदो शक्तिले स्थापित शक्तिलाई चुनौती दिएका थिए । ती सोह्र मध्ये १२ वटा त्यस्ता घटना युद्धमा गएर टुङ्गिएका छन् । एलिसन भन्छन्– वासिङटन र बेइजिङवीचको बढ्दो प्रतिश्पर्धाले अबको अन्तर्राष्ट्रिय सम्बन्धको बदलिंदो घटनाक्रमलाई परिभाषित गर्नेछ ।





























प्रतिक्रिया